मौकामा चौका हान्दै कारागारबाट बाहिरिएका रवि लामिछानेसहित छ हजार तीन सय फर्किए
सुरक्षाकर्मीको गैरजिम्मेवारीपनले भागेका थिए १४ हजार ५५५, अझै आठ हजार २२६ बाहिरै, समाजमा त्रास बढ्दो, फरार हुनेमा हत्यारादेखि बलात्कारीसम्म
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । जेन–जी आन्दोलनको मौका छोपेर सुरक्षाकर्मीको कमजोरीको फाइदा उठाउँदै भागेका विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका तथा सुधार गृहमा रहेका गरी भागेका आठ हजार २२६ कैदीबन्दी अझै फरार रहेका छन् ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीका अनुसार भागेका १४ हजार ५५५ मध्ये शनिबार मध्यान्हसम्म छ हजार ३२८ कैदीबन्दी मात्र कारागार फर्केका छन् ।
शुक्रबारसम्म छ हजार १७९ कैदीबन्दी फर्केका थिए । कारागार र सुधारगृह गरी ३० हजार ६३६ कैदीबन्दी रहेकामा जेन–जी आन्दोलनको मौका पारेर १४ हजार ५५५ कैदीबन्दी भागेका थिए ।
जसमा ९६४ जना सुधारगृह तर्फका हुन् । अहिलेसम्म फिर्ता आएका, सुरक्षाकर्मीले पक्राउ गरेकासमेत गरी छ हजार ३२८ जना हुन् । जसमा फिर्ता आउनेमा ३४१ जना सुधारगृह तर्फका हुन् । सुधार गृहमा रहेका १४ सय २२ जनामध्ये ९६४ जना भागेका थिए ।
त्यस्तै कारागारमा २९ हजार २१४ जना रहेकामा १३ हजार ५९१ जना भागेका थिए । त्यसमध्ये ५ हजार ९८७ जनामात्र फिर्ता आएका छन् ।
२८ कारागार र ९ सुधार गृहबाट उनीहरु भागेका थिए ।
अहिलेसम्म कारागारमा रहेका ५ र सुधारगृहतर्फ रहेका ५ गरी १० जनाको मृत्यु भइसकेकोसमेत सूचना अधिकारी जोशीले बताए । जसमा रामेछापमा ३, धादिङमा २ तथा बाल सुधारका ५ जना हुन् ।
एक जनाले आत्महत्या गरेकोसमेत गरी गरेर ११ जनाको मृत्यु भएको छ । आत्महत्या गर्ने सप्तरीका हुन् । उनले जेलबाट भागेपछि सप्तरीको जंगलमा गएर आत्महत्या गरेको पाइएको सूचना अधिकारी जोशीले बताए ।
कारागार व्यवस्थापन विभागले कारागारबाट भागेकाहरूलाई तत्काल फर्कन सूचना जारी गरेसँगै फर्कने क्रम चलिरहेको भए पनि पछिल्ला केही दिनदेखि त्यो क्रम घटेको छ ।
सीमाबाट समेत केहीलाई पक्राउ गरिएको छ । यसबाट धेरैको संख्यामा कैदीबन्दी भारतमा भागेका हुनसक्ने आँकलन गर्न सकिन्छ ।
सूचना अधिकारी जोशी भने सीमामा कडाइ गरिएकाले भारत जानेको संख्या बढी नभएको बताउँछन् ।
उनी सम्भवतः चाडबाड आइरहेको र चाड मनाएर फर्किउँ भन्ने मनस्थितिले पनि कैदीबन्दी घरमै लुकेको हुन सक्ने आँकलन गर्छन् ।
प्रहरीले भने यसको खोजी जारी राखेको छ । जघन्य अपराधमा जेल सजाय काटिरहेका अपराधी जेलबाट भागेपछि फेरि अपराध कर्ममै पाइएकाले पनि उनीहरु बाहिर बस्दा समाजलाई खतरा कायमै रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नक्खु कारागारबाट तामझामका साथ कार्यकर्ता र परिवारसँग बाहिरिएसँगै उनको देखासिकी गरेर देशभर कारागार छाड्ने माहोल बढेको थियो ।
भागेकामा जघन्य अपराध हत्या, बलात्कार लगायतका मुद्दाका जन्मकैदका अपराधीसमेत हुन् । त्यस्ता अपराधी छुटेपछि समाजमा भने झन् त्रास फैलेको छ ।
सुरक्षाकर्मीको लापरबाहीका कारण उनीहरु भाग्न सफल भएका थिए । सुरक्षाकर्मीले अहिलेसम्म सुरक्षाको अनुभूति गराउन सकेको छैन ।