arrow

जेन–जी आन्दोलनको असर

घटस्थापनाअघि कारागारबाट बाहिरिएका छ हजार नौ सय फर्किए

सुरक्षाकर्मीको गैरजिम्मेवारीपनले भागेका थिए १४ हजार ५५६, अझै सात हजार ६२७ बाहिरै, समाजमा त्रास बढ्दो, फरार हुनेमा हत्यारादेखि बलात्कारीसम्म 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
ramechhap-jail.JPG

काठमाडौँ । जेन–जी आन्दोलनको मौका छोपेर सुरक्षाकर्मीको कमजोरीको फाइदा उठाउँदै भागेका विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका तथा सुधार गृहमा रहेका गरी भागेका सात हजार ६२७ कैदीबन्दी अझै फरार रहेका छन् । 

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीका अनुसार भागेका १४ हजार ५५६ मध्ये आइतबार अपरान्हसम्म अर्थात् बडादशैंको घटस्थापना अघिसम्म छ हजार ९२८ कैदीबन्दी मात्र कारागार फर्केका छन् । 

कारागार र सुधारगृह गरी ३० हजार ६३६ कैदीबन्दी रहेकामा जेन–जी आन्दोलनको मौका पारेर १४ हजार ५५६ कैदीबन्दी भागेका थिए । 

जसमा ९६४ जना सुधारगृह तर्फका हुन् । अहिलेसम्म फिर्ता आएका, सुरक्षाकर्मीले पक्राउ गरेकासमेत गरी छ हजार ३२८ जना हुन् । जसमा फिर्ता आउनेमा ३४१ जना सुधारगृह तर्फका हुन् । सुधार गृहमा रहेका १४ सय २२ जनामध्ये ९६४ जना भागेका थिए । 

त्यस्तै कारागारमा २९ हजार २१४ जना रहेकामा १३ हजार ५९२ जना भागेका थिए । त्यसमध्ये छ हजार ५८७ जनामात्र फिर्ता आएका छन् । 

२८ कारागार र ९ सुधार गृहबाट उनीहरु भागेका थिए । 

कारागारमा रहेका ५ र सुधारगृहतर्फ रहेका ५ गरी १० जनाको मृत्यु भएकोसमेत सूचना अधिकारी जोशीले बताए । जसमा रामेछापमा ३, धादिङमा २ तथा बाल सुधारका ५ जना हुन् । 

एक जनाले आत्महत्या गरेकोसमेत गरी गरेर ११ जनाको मृत्यु भएको छ । आत्महत्या गर्ने सप्तरीका हुन् । उनले जेलबाट भागेपछि सप्तरीको जंगलमा गएर आत्महत्या गरेको पाइएको सूचना अधिकारी जोशीले बताए । 

कारागार व्यवस्थापन विभागले कारागारबाट भागेकाहरूलाई तत्काल फर्कन सूचना जारी गरेसँगै फर्कने क्रम चलिरहेको भए पनि पछिल्ला केही दिनदेखि त्यो क्रम घटेको छ । 

सीमाबाट समेत केहीलाई पक्राउ गरिएको छ । यसबाट धेरैको संख्यामा कैदीबन्दी भारतमा भागेका हुनसक्ने आँकलन गर्न सकिन्छ । 

सूचना अधिकारी जोशी भने सीमामा कडाइ गरिएकाले भारत जानेको संख्या बढी नभएको बताउँछन् । 

उनी सम्भवतः चाडबाड आइरहेको र चाड मनाएर फर्किउँ भन्ने मनस्थितिले पनि कैदीबन्दी घरमै लुकेको हुन सक्ने आँकलन गर्छन् । 

प्रहरीले भने यसको खोजी जारी राखेको छ । जघन्य अपराधमा जेल सजाय काटिरहेका अपराधी जेलबाट भागेपछि फेरि अपराध कर्ममै पाइएकाले पनि उनीहरु बाहिर बस्दा समाजलाई खतरा कायमै रहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नक्खु कारागारबाट तामझामका साथ कार्यकर्ता र परिवारसँग बाहिरिएसँगै उनको देखासिकी गरेर देशभर कारागार छाड्ने माहोल बढेको थियो । 

भागेकामा जघन्य अपराध हत्या, बलात्कार लगायतका मुद्दाका जन्मकैदका अपराधीसमेत हुन् । त्यस्ता अपराधी छुटेपछि समाजमा भने झन् त्रास फैलेको छ । 

सुरक्षाकर्मीको लापरबाहीका कारण उनीहरु भाग्न सफल भएका थिए । सुरक्षाकर्मीले अहिलेसम्म सुरक्षाको अनुभूति गराउन सकेको छैन । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ