पूर्व प्रहरी संगठनले भन्यो – जेन-जी आन्दोलनमा किन हार्यो भनेर सुरक्षाकर्मीलाई सोध्नुपर्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
1.3k
Shares
काठमाडौँ । पूर्व प्रहरी संगठनले हालको मन्त्रिमण्डलमा अन्य विज्ञ भए पनि सुरक्षा विज्ञ नभएको कारण पूर्व सुरक्षाकर्मी समूहबाट सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग गरेको छ ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रहरी संगठनले जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायहरूले हारेको टिप्पणी गर्दै सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि माग गरेका हुन् ।
पूर्वप्रहरी संगठनका अध्यक्ष वसन्त कुँवरले जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग सरकारले ‘तपाईँहरू किन हार्नुभयो ?’ भनेर प्रश्न गर्नुपर्ने बताए ।
शासन सत्ता उल्टिने, सम्पूर्ण सरकारी भवन जल्ने अवस्था सिर्जना हुनुमा प्रहरी संगठनलाई कमजोर पार्नु मुख्य कारण रहेको उनले बताए ।
उनले भने, ‘सुरक्षा फौज हार्छ भने सुरक्षा फौजलाई पालेको किन ? सेनाको रोल के थियो ? उहाँहरुले आफ्नो काम गर्न सक्नुभयो कि भएन ? सशस्त्रको रोल के थियो ? उहाँहरुले आफ्नो काम गर्न सक्नुभयो कि भएन ? हामीलाई कुन प्रधानमन्त्री मन पर्यो, कुन मन परेन, कुन दलको छ ? त्यो हामी एकछिन बिर्सिऊँ । अबको नेपालको समस्या के आयो भने कुनै पनि सरकार नटिक्ने भयो । त्यसकारण हाम्रो भनाइ के हो भने, सरकारले सोधोस् कि-तपाईँहरू किन हार्नुभयो ?’
यस्तै, पूर्व एसएसपी प्रदीपकुमार श्रेष्ठले नेपाल पूर्व प्रहरी संगठनले जेन-जी आन्दोलन र वर्तमान सरकारप्रति समर्थन जनाएको बताए ।
‘नेपाल पूर्व प्रहरी संगठन सुशासनको लागि जेन-जी पुस्ताद्वारा अगाडि सारिएको पवित्र उद्देश्यको हामी समर्थन गर्छौँ । अहिले देशमा जेन-जी पुस्ताले जुन किसिमको आन्दोलन गर्यो, जसरी अहिले परिवर्तन आएको छ, सरकार गठन भएको छ । यो आन्दोलनलाई नेपाल पूर्व प्रहरी संगठनले पूर्ण रुपमा समर्थन गर्दछ,’ उनले भने ।
जेन-जी आन्दोलनको क्रममा भएको सरकारी, निजी र व्यवसायिक सम्पत्तिमाथिको तोडफोड र आगजनीको समेत पूर्व प्रहरी संगठनले भत्र्सना गरेको छ । अपराधजन्य कार्य गर्ने, लुटपाट गर्ने व्यक्तिलाई कानूनबमोजिमको कारबाही गर्न पूर्व प्रहरी संगठनले नेपाल सरकारसँग माग गरेको छ ।