arrow

अब हेरफेर आएको हेर्न बाँकी छ

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८२ असोज ११ शनिबार
badri-ojha-82-6-11.jpeg

एउटा वामपन्थी गीत छ – एक युगमा एक दिन एक पटक आउँछ, उलट पुलट उथल पुथल हेरफेर ल्याउँछ । भयो यस्तै । उलट पुलट भयो । अब हेरफेर आएको हेर्न बाँकी छ । 

आफ्नै जीवनमा मैले एक युगका तीन दिन देखेँ त्यो पनि चार दशकको बीचमा ।  विसं २०४६ मा, २०६३ मा र २०८२ मा । ०८२ को दिन भने मैले समुद्रपारबाट मात्र देखेँ । अरु दुई दिन देख्न म आफैंले पनि सक्दो योगदान गरेको थिएँ । म भन्दा अघिल्लाहरुले २०३६ पनि देखे । त्यो भन्दा अघिकाले २०१७ पनि देखे । २०१७ भोग्नेहरु कमै बाँकी होलान् । २००७ को त औँलामा गनिने बाहेक पुस्तै सकियो । 

यस युगका यी पाँच दिनहरुले नेपाली जनताको जीवनमा के परिवर्तन ल्याए त । २००७ ले आँखा खोल्यो, २०१७ ले पट्टि बाँधिदियो । फेरि २०४६ सम्म लाग्यो आँखा देख्न । २०५१ पछि २०६३ सम्म फेरि आँखामा पट्टि लगाउनुपर्यो । समयले तिनै पट्टी बाँधिदिनेहरुलाई देशका महाजन बनाइदियो । 

सकेसम्म झुट खेती गर्नुपर्छ नत्र मान्छेका छोराछोरी कहाँ मर्न तयार हुन्छन् भन्ने मानिस प्रधानमन्त्रीसम्म बने । तिनै बाठाहरु अहिले जेन–जी आन्दोलनलाई आफ्नो पक्षमा पार्न अन्टसन्ट कुरा गरेको सुनिन्छ । 
सहश्र्राब्दी पुस्ता जेन–जीको आन्दोलनले उनीहरुका भकारीबाट पैसा निकालिदियो । डढाइ दियो । उदाङ्गो पारिदियो । भलै यो नक्कली पैसा थियो भन्ने पनि सुनियो । त्यो पनि भविष्यले नै टुंगो लगाउला ।  एकले अर्कालाई औंल्याएर खिस्स हाँस्दै निर्लज्ज प्रतिक्रिया दिँदै बसेका छन् अहिले उनीहरु । जनताका छोराछोरी मार्न विभिन्न आवरणमा आउनेहरु सबैको चाला एउटै रहेछ । आन्दोलनमा त्यो तथ्य पनि उदांगियो ।  

हाम्रो देश राणाहरुले चुसेर सकिएपछि मात्र प्रजातन्त्रमा प्रवेश गरेकाले प्रजातन्त्र आउँदा अत्यन्त गरिब थियो । खासगरी देशसँग ढुकुटी थिएन । राणाहरु आफू बसेको दरबारको दाम सरकारबाट लिन्थे । अथवा देशको ढुकुटी मनोमानी रुपमा खर्च गर्थे । 

यतिसम्मकी सत्तामा हुनेको त कुरै नगरौँ देश निकालामा परेका एकजना राजाको सन् १९४० मा भारतको बेङलोरमा निधन हुँदा त्यतिबेला उनको खातामा ६० लाख भारु थियो भन्ने लिखत पाइन्छ । सत्तासिनहरुको सम्पत्ति कति थियो होला यसै तथ्यबाट अन्दाज लगाउन सकिन्छ । 

प्रजातन्त्र स्थापनापछि देशको प्रशासन चलाउन विदेशीसँग दान र ऋण माग्नुपर्यो । आर्थिक वर्ष २००७–०८ मा देशको कूल वैदेशिक सहयोग चार अर्ब ९२ करोड थियो । जसमध्ये चार अर्ब १० करोड जति अनुदान र लगभग ९२ करोड जति ऋण रहेको अर्थ मन्त्रालयको तथ्यांकले जनाउँछ । विस्तारै विदेशीले अनुदान घटाउँदै लगे भने ऋण बढ्दै गयो । आव २०१७– १८ मा पुग्दा लगभग १२ अर्ब ऋण पुग्यो । 

अर्थकै तथ्यांक अनुसार आव २०८२–८३ मा आइपुग्दा विदेशी ऋण बढेर १३८० अर्ब रुपैयाँ पुगेको छ । यता स्वदेशी ऋण पनि उत्ति नै छ । दुवैतर्फको ऋण गरेर अहिले सरकारमाथि २६६७ अर्ब रुपैयाँको ऋणभार छ । 

यसमाथि अहिलेको आन्दोलनमा भएको क्षतिले देशलाई अरु तीन हजार अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । यो पनि हाम्रै काँधमा आउँछ । अहिले मानिसहरु यसउसमाथि आरोप लगाउँदै जोगिन खोजे पनि यो सबै ऋण तपाईं हामीले नै तिर्नुपर्छ । 

पछिल्लो आन्दोलनले थपेको तीन हजार अर्ब क्षति पनि त अब कतैबाट ऋण नै लिएर पूर्ति गर्नुपर्छ । यदि नेपालको जनसंख्या तीन करोड मान्ने हो भने हरेकका काँधमा एक लाख ऋण थप भयो । आजका दिनमा हाम्रो काँधमा पाँच हजार अर्ब रुपैयाँ ऋण पुग्यो । यो सबै हिसाब राख्दा हाम्रो काँधमा एक लाख ७३ हजार तीन सय ३३ रुपैयाँ ऋण पुगेको छ । 

यसमा कसरी सुधार गर्न सकिन्छ भन्नेबारे अर्थविद्हरुले बताउलान् । म यतिमात्र भन्न सक्छु, हाम्रो देश बनाउँन कसैले दयालु बन्दैनन् । जसो गरे पनि जिम्मेवारी हाम्रै हो ।

आजका दिनमा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत छ । यदि कृषिलाई उपयुक्त स्थान दिएर जहाँ जे उत्पादन हुन्छ, त्यहाँ त्यसैका लागि सहयोग गरे कम्तिमा पनि २४ प्रतिशत राहत मिल्छ । 

शुरूआत यताबाट गरौँ । (लेखक ओझा किसानहरूको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ