हामीले जेठ १५ गते गणतन्त्र दिवस मनाउँछौँ । १५ गते राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणा भएको दिन हो । विश्वका हरेक देशमा कुनै न कुनै दिवस मनाउने गर्दछन् । उदाहरणका लागि १५ अगष्ट भारत स्वतन्त्र भएको दिन,भारतले स्वतन्त्रता दिवस रुमपा धुमधामका साथ मनाउँछ । यद्यपि युरोपको मोल्दोभाले भने पृथक प्रकाराव उत्सव मनाउँछ ।
मोल्डोभामा मूलतः अक्टोवर महिनाको पहिलो हप्ता राष्ट्रिय वाइन डे (जाँड दिवस)मनाइन्छ । सुन्दा पनि अनौठो लाग्ने त्यो वाइन डे मतलव जाँड दिवसले एक प्रकारले भिन्दै विशेषता प्रस्तुत गरेको छ भने वाइनको महत्त्वलाई पनि थप रोचक ढंगमा प्रस्तुत गरेको पाइन्छ ।
एकैछिन जाँड दिवस मनाउने देश मोल्डोभाको बारेमा चर्चा चर्चा गरौँ । सामरिक र भूराजनीतिक रुपमा मोल्डोभाको इतिहास हेर्ने हो भने सन् १८१२ ताका रोमानिया र दोस्रो विश्व युद्धपछि रुसको अधिनमा थियो । सोभियत संघको विघटनपछि स्वतन्त्र भएको यो देश युरोपको गरिब देशको पंक्तिमा पर्दछ । गरिब राष्ट्र मोल्डोभाले अझैसम्म राष्ट्र संघको सदस्यता लिएको पनि छैन । अचम्म त यो छ कि विश्वमा धेरै रक्सी पिउने देश बेलारुसपछि मोल्डोभा दोस्रो स्थानमा पर्दछ ।
त्यहाँका मानिसलाई रक्सी पिउन कुनै सामाजिक उत्सव, पर्व र अवसर कुर्न पर्दैन । जुन सुकै बेला रक्सी पिउने छुट छ । मोल्डोभाले रुसको प्रतिबन्ध खेप्नुपूर्व ३५ प्रतिशतको आम्दानी जाँड रक्सीको बिक्रीबाट गर्थ्यो भन्ने तथ्यांकले देखाएको छ । मोल्डोभा स्वतन्त्र भएदेखि अहिलेसम्म पनि वार्षिक २५ प्रतिशत आय रक्सीबाट नै गरिरहेको तथ्यांकले देखाएको छ । रक्सी बिक्री गरेर आर्थिक अवस्था सुधार्ने मोल्डोभा देश एउटा उदाहरण हो । त्यसको अर्को उदाहरण बेलारुस पनि हो ।
मुख्यगरी जाँड, वाइन उत्पादनको मुख्य कच्चापदार्थ अंगुर हो । जसबाट वाइन र ह्विस्की, जाँड र रक्सी उच्च स्तरको निर्माण हुन्छ । जसलाई नेपालमा किरातहरूले आरखा, वासिम भन्दछन् । फरक भूगोल विशेष, कहिँ जाँड, रक्सी, ह्विस्की, वाइन, नेवारीमा एला जे भने पनि त्यसको काम मानिसको शरीरमा एक प्रकारको ताप उत्पन्न गराउने र आनन्द प्रदान गर्ने हो । फेरि औषधि विज्ञानले पनि यसलाई अल्कोहलको नाममा प्रयोग गर्न शुरू गरेपछि विश्व बजारमा ह्विस्कीको माग भिन्दै प्रकारको एक औषधि हुने भइहाल्यो ।
मोल्डोभामात्र होइन युरोपका अधिकांश राष्ट्रले वाइन र ह्विस्कीको उत्पादन गर्दछ, स्वतन्त्र उपभोग र विश्वव्यापी व्यापार गर्दछन् । त्यसको पहिलो उदाहरण स्कच ह्विस्की हो । जुन जोनि वाकरको स्कच ह्विस्कीको नाममा विश्व प्रसिद्ध छ ।
एकैछिन जोनि वाकर ह्विस्कीको कसरी निर्माण भयो भन्ने विषयमा केन्द्रित हौँ । त्यसपछि होनचा के हो र यसले नेपलको अर्थतन्त्रमा मजबुद निर्माण गर्न कस्तो भूमिका खेल्दछ भन्ने बारेमा चर्चा गरौँला ।
जोनि वाकर को हो ? यो नाम हो कि होइन ? मानिसहरू अलमलमा पर्न सक्छन् । वास्तवमा भन्ने हो भने जोनि वाकर: एक नाम र एक विरासत हो । तर जोनि वाकर एक व्यक्ति होइन एक ब्रान्डको नाम हो ।
यो एक अत्याधिक लोकप्रिय स्कच ह्विस्कीको नाम हो । जोनि वाकरको इतिहासको कथा स्कटल्याण्डबाट शुरू हुन्छ । सन् १८०५ मा एक किराना पसलको रूपमा शुरू भएको यो घरेलु व्हिस्की सफलताको कारणपछि अद्वितीय स्वादहरू सिर्जना गर्दै (विभिन्न व्हिस्कीहरू मिसाएर प्रयोग गर्दै ) उत्कृष्ठ बन्न पुग्यो ।
व्यापार कौशलले आज विश्वले चिन्ने र चर्चित प्रतिष्ठित ब्रान्ड बन्यो जोनि वाकर व्हिस्की । कसैले अरू ह्विस्की लोकप्रिय नहुने जोनि वाकरमात्र किन चर्चित भयो भन्ने प्रश्न गर्यो भने त्यसको सरल जवाफ हुन्छ कि जोनी वाकरले समय अनुसारको उपभोक्ताहरूको विभिन्न स्वादहरूको चाहनालाई पूरा गर्न विभिन्न मिश्रणहरू प्रस्तुत गर्दै वर्षौंदेखि विकसित हुँदै आयो ।
गुणस्तर र नवप्रबर्तनप्रति ब्रान्डको प्रतिबद्धताले विश्वको सबैभन्दा लोकप्रिय व्हिस्कीहरूमध्ये एकको रूपमा आफ्नो स्थिति बलियो बनाएको हो भन्ने सरल जवाफ दिन्छन् । यो एउटा सफलताको कथा हो जुन उत्पादनले विश्वलाई सन्तुष्ट पारेको छ ।
त्यसैगरी नेपालको खाद्य परिकार तथा पेय पदार्थहरूको चर्चाको कुरा गरिरहने हो भने यहाँ रक्सीलगायत धेरै खाने कुराहरू छन् । तर यहाँ ती खाने परिकारहरूमध्ये नेवारी समाजमा त्यो पनि पाटनमा चर्चित ‘होनचा’ को खाजाको बारेमा चर्चा गर्ने छु ।
के हो त होनचा ?
मूलतः होनचा एक चर्चित खाजाको नाम हो । जुन नेपाल झन्डै १०० सय वर्षअघिदेखि चर्चामा रहेको खाजाको परिकार र पसलको नाम हो । जसलाई नेवारी समाजमा निकै महत्त्वका साथ हेर्ने गरिन्छ ।
होनचा खाजाको प्रमुख प्रमुख विशेषता भनेको आलुको मीठो स्वाद हो । जस्तोकि जोनि वाकरको ह्विस्की (रेड लेवल ब्लु लेवल), त्यसैगरी केएफसीको चिकेनको मीठो स्वाद आदि । भन्ने हो भने होनचाको पीरो आलुको झोल पनि त्यस्तै हो । त्यस्तो मीठो आलुको झोल सहितको च्वास्रो पीरो स्वादको नाम कसरी होनचा रहन गयो भन्ने सन्दर्भ भने सरल र सहज छ ।
त्यसैले यो साधारण विधिद्वारा पाक गरिएको होनचाले निर्माण गर्न सक्ने आर्थिक वृद्धि र आर्थिक राष्ट्रवादको जगसँग सम्बन्धित भइ मोल्डोभाको वाइन, स्कटल्याण्ड ह्विस्की र नेपालको होनचा उस्तै उस्तै स्थानीय उत्पादन हो भन्ने विषयमा केन्द्रित हुन्छौँ ।
नेवारीमा तरकारी झान्नुलई ह्वना भनिन्छ । नेवारहरूले भान्सामा परिकारलाई मीठो बनाउन तेललेह्वना गर्दछन् । अथवा होना गरिन्छ मतलव झानिन्छ । त्यही ह्वना गारेको आलु, झानेको पीरो आलुको विशेष परिकार नै होनचाको मौलिक परिकार हो । त्यसको अलावा होनचाको थप परिकारकहरू छोइला,आलुतामा,कालो भटमास,मुला काँक्रा, आलुको मिश्रण पीरो अचार,ताइचुं चामलको पातलो छ्यांग आदि होनचा ब्रान्डका थप परिकारहरु हुन् ।
जुन लामो समयदेखि युवा वृद्ध सबै माझ उत्तिकै प्रख्यात छन् । वा ! कति उत्कृष्ट ? आलुदेखि मदिरासम्म सबै कुरा एकै ठाउँ उपलब्ध हुने होनचा ब्राण्ड । त्यही भएर पाटन घम्न आउने आन्तरिक तथा विदेशीहरू पर्यटकहरूले होनचा खाजातिर उत्तिकै आकर्षित हुन्छन् । मूलतः व्यञ्जनकारहरूको पुर्ख्यौली पेशा वा उनीहरूले बनाउने होनचा परिकार जोनि वाकरको ह्विस्की, रेड लेवल ब्ल्यु लेवल, के एफसी चिकेनकै हराहारीको नाम हो । होनचाले पराखीहरुलाई सन्तुष्ट गरेको झन्डै सय वर्ष भन्दा बढी भैसकेको छ ।
आर्थिक वृद्धि, होनचा र आर्थिक राष्ट्रवाद
सामान्य भाषामा आर्थिक वृद्धि भनेको आर्थिक आम्दानी पहिलेको भन्दा धेरै हुनु हो तर अर्थशास्त्रको भाषामा आर्थिक वृद्धि भनेको समयसँगै देशको वस्तु र सेवाहरूको उत्पादनमा भएको वृद्धि हुनुलाई बुझाउँछ ।
यो सामान्यतया वास्तविक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वार्षिक प्रतिशत परिवर्तनद्वारा मापन गरिन्छ । अथवा आर्थिक वृद्धि अर्थतन्त्रको आकारको मापन हो, जसले देशको आर्थिक स्वास्थ्य अवस्थाको अझ सटिक तस्वीर दिन मुद्रास्फीतिलाई जिम्मेवार बनाउँछ ।
आर्थिक राष्ट्रवाद एक नीतिगत विकल्प हो जुन देशले आर्थिक वृद्धि हासिल गर्ने प्रयासमा प्रयोग गर्दछ । अझ प्रष्टसँग भन्दा आर्थिक वृद्धि गर्न स्थानीय उत्पादनको प्रयोग र व्यापारलाई विशेष प्राथमिकता दिन्छ । अर्थात् आर्थिक राष्ट्रवादले विश्वव्यापी व्यापार भन्दा घरेलु हितलाई प्राथमिकता दिने गर्दछ । माथि उल्लेख गरिएको जोनि वाकरको हुस्की र मोल्डोभाको वाइन (जाँड) शुरूमा उत्पादन गर्दा आर्थिक राष्ट्रवादको विचारको व्यावहारिकताको परिणाम थियो । समय क्रमले ती घरेलु उत्पादनलाई विश्वव्यापी बनायो ।
शुरूमा त्यसले उत्पादन गर्ने व्यक्तिलाई मात्र आर्थिक लाभ दियो । त्यसको माग वैशिक भएपछि त्यसबाट हुने आर्थिक लाभ व्यक्तिमा मात्र रहेन । त्यसको लाभ राष्ट्रलाई पनि भयो । त्यति मात्र होइन जाँड र रक्सीले सिंगो विश्वलाई एक सर्कलमा बाँध्यो ।
हो त्यसैगरी होनचाको मीठो परिकारलाई पनि प्रबर्धन गर्दै वैशिक बनाउनु सक्यो भने त्यसले व्यञ्जनकारहरूको आर्थिक अवस्था सुद्रिढ हुँदैन कि त्यसले सिंगो राष्ट्रको आर्थिक अवस्था सुद्रिढ गर्न मद्धत पुग्ने सम्भावना हुन्छ ।
त्यसैले संघीय, प्रदेश र स्थानीय सरकारले स्वदेशी उत्पादनमा गुणस्तर र त्यसको उपभोगमा प्राथमिकता, अप्ठ्यारा नियममा कानूनहरूलाई प्रतिस्थापना गर्दै सरल र सहज ढंगले उत्पादन गर्ने व्यवस्था गर्न जरुरी छ । बेलायत र मोल्डोहाले ह्विस्की र वाइन व्यापार गरे जस्तै सहज बनाउँदै लाग्यो भने होनचाको बजारी कारणले आर्थिक वृद्धिमा टेवा दिनेछ । जय होनचा !