जेन–जी आन्दोलन र नाका बन्दले दशैँ व्यापारमा भारी कमी
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
1.3k
Shares
काठमाडौं। यस वर्षको दशैँ व्यापारमा भारी कमी आएको व्यवसायीहरूले बताएका छन्। काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्युरोडमा व्यवसाय गर्दै आएका व्यापारीहरूले विगतको दशैँको तुलनामा यस वर्षको व्यापार खस्किएको जानकारी दिएका हुन्।
व्यापारी प्रल्हाद चौलागाईंले जेन–जी आन्दोलन पछि व्यापारमा प्रतिकूल असर परेको बताए। उनले अहिले देशको स्थिति सामान्य नभएको र पछिल्लो घटनाक्रमले मानिसहरूमा डर र त्रास सिर्जना गरेकाले ग्राहकहरू बजारमा कम आएको स्पष्ट पारे। "व्यापार पहिलाको तुलनामा धेरै कम हो। कोभिडपछि व्यापार कम हुँदै गएको छ, अहिले पछिल्लो घटनाले पनि केही असर गरेको छ," चौलागाईंले भने।
व्यापारीहरूको मुख्य गुनासो भने भन्सार नाकाहरू नखुलेका कारण सामान निर्यात गर्न नसकिएको र यसले व्यवसायमा गम्भीर असर पारेको भन्ने छ। व्यापारी मनोजबाबु श्रेष्ठले सरकारको नीतिका कारण व्यवसाय नै गर्न नसकिने अवस्था आएको बताए।
श्रेष्ठका अनुसार केरुङ नाका मा करिब ३ महिनादेखि समस्या छ। तातोपानी नाका पनि २ महिनादेखि बन्द छ।
नाका बन्द हुँदा निर्यातका सामानहरू भन्सार विन्दुमा आएर रोकिएको, उद्योगका लागि आवश्यक कच्चा पदार्थहरू र तयारी वस्तुहरू समेत आउन नसकेको उनले जानकारी दिए। "तीजदेखि नै व्यवसायीहरूले आफ्नो व्यवसाय गर्न पाएका छैनन्। व्यवसाय नै पलायन हुने अवस्थामा पुगेको छ," श्रेष्ठले पीडा सुनाए।
नाका अवरोधका कारण आयात र निर्यात ठप्प हुँदा बजारमा सामानको मूल्य बढेको गुनासो ग्राहकहरूले गरेका छन्। व्यापारीहरूले पनि भन्सार नाकाहरू नखुलेका कारण निर्यात गर्न नसक्दा सामानहरू महँगोमा बेच्नुपरेको भन्दै बाध्यता सुनाएका छन्। उनीहरूले सरकारको वर्तमान नीतिले गर्दा आफूहरूको व्यवसाय पलायन हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।