हाइटीमा हिंसाको भयावह अवस्था, १६ हजारभन्दा बढी मानिस मारिए
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
2.8k
Shares
काठमाडौँ। संयुक्त राष्ट्र सङ्घले सन् २०२२ को सुरुदेखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजारभन्दा बढी मानिस मारिएको जनाउँदै अझै योभन्दा खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रका अधिकार प्रमुख भोल्कर टर्कले मार्च महिनादेखि हिंसा तीव्र भएको र हाइटीमा मानव अधिकारको अवस्था बिकराल बन्नुका साथै दुव्र्यवहार बढेको बताएका छन्।
गरिबी र लामो समयदेखिको राजनीतिक अस्थिरताबाट ग्रस्त देश हाइटी हिंसात्मक आपराधिक गिरोहबाट पीडित छ। यी गिरोहले हत्या, बलात्कार, लुटपाट र अपहरणजस्ता गतिविधि गर्दै आएका छन्। टर्कले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै सन् २०२२ जनवरी १ देखि गिरोह र सम्बन्धित हिंसाको निगरानी सुरु गरिएको बताएका थिए। यस अवधिमा उल्लेखित सङ्ख्याभन्दा बढी मानिस मारिएका छन् भने करिब सात हजार मानिसहरू घाइते भएका छन्।
गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्सभन्दा बाहिर पनि डर फैलाउँदै हिंसाले “व्यापक क्षेत्रलाई अस्थिर पार्ने” खतरा रहेको उनले बताए।
यस भयावह अवस्थालाई नियन्त्रण गर्न न्यूयोर्कमा मङ्गलबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले हाइटीमा संयुक्त राष्ट्र समर्थित सुरक्षा मिसनलाई सैन्य सेनासहित पूर्ण बलको रूपमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ। नयाँ फोर्समा अब प्रहरी अधिकारी र सैनिकहरू सहित अधिकतम पाँच हजार ५०० वर्दीधारी कर्मचारीहरू हुन सक्नेछन्। टर्कले यसका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र समर्थन जरुरी रहेको बताएका छन्।
यद्यपि, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले गिरोहका सदस्यहरू, जनसङ्ख्या र सुरक्षा बलहरूबीचको “हिंसाको चरमोत्कर्ष” को निन्दा गरेका छन्। उनले गत मार्चदेखि नै हाइटी सरकारले राजधानीमा आफ्नो गिरोह विरोधी कारबाहीमा विस्फोटक ड्रोनको प्रयोग बढाएको बताए। सेप्टेम्बरको मध्यसम्ममा ड्रोन आक्रमणमा ११ जना बालबालिका सहित कम्तीमा ५५९ जनाको मृत्यु भएको र यी अधिकांश आक्रमणहरू अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअन्तर्गत गैरकानूनी हुने टर्कले उल्लेख गरे।
टर्कले तथाकथित समूहले यस वर्ष ५०० भन्दा बढी कथित गिरोहका सदस्यहरूको हत्या गरेको कुरा पनि “गहिरो चिन्ताको विषय” भएको बताए। साथै, हाइटीका बालबालिकाहरू गिरोहद्वारा तस्करी, शोषण र जबरजस्ती भर्तीको सिकार भएकोमा उनले चिन्ता व्यक्त गरेका छन्।
उनले अन्तमा भने, “हामी हाइटीका जनताका लागि यो अवस्थालाई परिवर्तन गर्न सक्छौँ र गर्नुपर्छ।”