अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन-जी युवाको प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
1k
Shares
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै जेन–जी युवाहरूले आज (मंगलबार) टंगालस्थित आयोगको कार्यालयमा प्रदर्शन गरेका छन्।
'जेन–जी मुभमेन्ट अलायन्स' का युवाहरूले प्रमुख आयुक्त राईसहित सभी आयुक्तहरूको निष्पक्षतामाथि प्रश्न उठाउँदै आयोग परिसरमा बिहानै प्रदर्शन गरेका हुन्। उनीहरूको मुख्य आरोप अख्तियारमा 'दलका मान्छे नियुक्त गरिएको कारण भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका' रहेको छ।
अलायन्सका युवाहरूले सोमबार साँझ नै इमेलमार्फत राजीनामाका लागि दबाबमुलक पत्र पठाएका थिए भने आज त्यसैको औपचारिकताका लागि आयोगमा निवेदन पनि दर्ता गराएका छन्। अलायन्सका युवा रिजन रानामगरले प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।
जेन–जी युवाहरूको माग केवल अख्तियारका पदाधिकारीमा मात्र सीमित छैन। उनीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका संवैधानिक आयोगका ५२ पदाधिकारीहरूको नियुक्ति समेत खारेज हुनुपर्ने माग राख्दै आएका छन्। युवाहरूको प्रदर्शनका कारण अख्तियारसहित केही कार्यालयहरूमा बिहानैदेखि सुरक्षा व्यवस्था चुस्त पारिएको छ।