शुभ दीपावलीको तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा एकैसाथ
तीन सुरक्षा निकायले गरे कुकुर पूजा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
851
Shares
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर कुकुर तिहार श्रद्धापूर्वक मनाइएको छ। सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर, मीठा मीठा खानेकुरा खान दिई पूजा गरिएको छ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ, र यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ। कुकुरलाई घरपालुवा, आज्ञाकारी, घरको रक्षक एवं गुनिलो जनावर मानिन्छ। इमान्दार र बफादार यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने कार्यमा समेत सहयोग गर्दछ। साथै कुकुरलाई भैरवको वाहन पनि भनिन्छ। विनाशकारी प्राकृतिक प्रकोप वा दैवी विपत्ति हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना दिने गरेको विश्वास समेत रहेको छ।
परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ। कुकुरका गुणहरूको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोस्रो दिन पारेर पुज्ने गर्दछन् (यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको छ)। सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ।
आज नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलले पनि आ-आफ्ना तालिमप्राप्त कुकुरहरूलाई पूजा गरी सम्मान गरेका छन्।
आजकै दिन नेपाल प्रहरीको केनाइन महाशाखा (कुकुर तालिम केन्द्र) ले पनि कुकुरको पूजाआजा सम्पन्न गरेको छ। प्रहरी अनुसन्धानमा कुकुरको भूमिका निकै महत्त्वपूर्ण मानिन्छ र जटिल अनुसन्धानमा समेत उनीहरूलाई समावेश गराइन्छ। महाशाखाले हातहतियार तथा विष्फोटक पदार्थ, लागूऔषध, खोजि तथा उद्धार र ट्र्याकको अनुसन्धान गर्ने ८ प्रजातिका कुकुरहरूको सम्मानमा विभिन्न खेल खेलाएर तथा खानपान गराएर पूजा गरेको हो। प्रहरी अधिकृतहरूले आफूहरूलाई सघाउने कुकुरहरूको पूजा गर्न पाउँदा खुशी व्यक्त गरेका छन्।