म्हपूजा र नेवार समुदायको तिहारः आत्मपूजादेखि नयाँ वर्षको स्वागतसम्म [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
1k
Shares
काठमाडौँ । तिहार हरेक नेपालीका लागि खुशी, उज्यालो र आत्मीयताको चाड हो । तर, नेवार समुदायको तिहार भने अरू समुदायको भन्दा केही फरक र गहिरो अर्थ बोकेको छ । तिहार केवल लक्ष्मी पूजा र भाइटीकासम्म सीमित छैन । ‘म्हपूजा’ अर्थात् आफूलाई आफैं पूज्ने परम्पराको पनि पृथक महत्व छ । म्हपूजा भन्नाले ‘आफूलाई आफैँ पूजा गर्ने’ भन्ने अर्थ दिन्छ । नेवार परम्परामा यो केवल धार्मिक कर्म होइन, आत्मा, शरीर र चेतनाको पुनर्संस्कार गर्ने प्रतिकात्मक अनुष्ठान हो ।
संस्कृति अध्येता एवं साहित्यकार सुशील राजोपाध्याय अनुसार म्हपूजामा परिवारका सबै सदस्यहरू पंक्तिबद्ध भएर बस्छन् । प्रत्येक व्यक्तिको अघि मण्डप कोरिन्छ जसलाई जलक मण्डप भनिन्छ । त्यसपछि तेलको मण्डप बनाइन्छ र त्यसमा धूप, बत्ती, अक्षता, र लावा राखिन्छ । यही मण्डप मान्छेको प्रतिक हो, आफ्नो आत्माको प्रतिनिधि हो । उनले भने, ‘जसरी बाहिरी शरीरलाई पानीले सफा गरिन्छ, त्यसरी नै म्हपूजामा मनलाई पनि शुद्ध पारिन्छ ।’
म्हपूजामा ‘सगुन’ दिने चलन अत्यन्तै महत्वपूर्ण छ । सगुन पाँच वस्तुका संयोजन हो-माछा, अण्डा, बारा, मासु र रक्सी । यी पाँच तत्वले जीवनका पाँच शक्तिलाई जनाउँछ । घरकी मुली (महिला सदस्य) को हातबाट सगुन लिएपछि सबै सदस्य आफ्नो आत्माको कल्याणका लागि त्यसलाई ग्रहण गर्छन् । यसरी नेवारहरूको म्हपूजा आत्मस्वीकृति र आत्मप्रेमको प्रतिक हो, जहाँ व्यक्ति आफूलाई पुनःस्मरण र सम्मान गर्छ ।
नेवार समुदाय हिन्दू र बौद्ध दुवै धर्ममा आधारित भएकाले म्हपूजाको विधि पनि फरक-फरक छ । हिन्दू नेवारहरू जलको मण्डप र तेलको मण्डप बनाएर पूजा गर्छन् । धूपबत्ती, लावा, अक्षता राखेर दहीको टीका लगाइन्छ ।
पूजापछि घरकै मुलीले लक्ष्मीपूजाका प्रसाद सबै सदस्यलाई दिन्छन् र सबैले त्यही मण्डपमै बसेर भोज खाने गर्छन् । बौद्ध नेवारहरू भने थोपा (प्रदीप), पुष्प र सुगन्धले मण्डप सजाउँछन् र ध्यानको माध्यमबाट आत्म-पूजा गर्छन् ।
म्हपूजापछि अर्को दिन नेवार समुदायमा भाइपूजा (किजा पूजा) मनाइन्छ । यसमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुख-समृद्धिको कामना गर्दै पूजा गर्छन् । यो संस्कार यमराज र यमुनाका पौराणिक कथासँग सम्बन्धित मानिन्छ ।
नेवारहरू भाइपूजामा पनि मण्डप कोरेर पूजा गर्छन् । मण्डपमा यमराजको प्रतिक स्वरूप बिमिरो राखिन्छ । दिदीबहिनीले दाजुलाई दही, चामल र अविरको मिश्रणबाट बनेको रातो टीका लगाउँछन् । उपहार र दक्षिणा आदान-प्रदान गरेर चाडको आत्मीयता बाँडिन्छ ।
जसका दाजुभाइ वा दिदीबहिनी छैनन्, तिनीहरू भाइटीकाको दिन रानीपोखरीमा रहेको भगवानको मन्दिरमा दर्शन गर्न जान्छन् । त्यहाँ ‘निधार खाली’ मानिसहरू टीका लगाउने, आशीर्वाद पाउने र आफूलाई धन्य ठान्ने गर्छन् । यो प्रथा सबैलाई परिवारको भावमा जोड्ने परम्परा हो ।
नेवार परम्परामा लक्ष्मीपूजा केवल धन-समृद्धिको प्रतिक होइन, आर्थिक वर्षको अन्त्य पनि हो । त्यस दिन सबै आय-व्यय, आम्दानी-खर्चको हिसाबकिताब मिलाइन्छ । लक्ष्मीपूजाको रातलाई पूरानो वर्षको अन्तिम रात मानिन्छ र भोलिपल्ट म्हपूजाको दिन नयाँ वर्ष अर्थात् नेपाल संवत् शुरू हुन्छ । नेवारहरूले लक्ष्मीपूजामा सम्पूर्ण सम्पत्तिहरू अगाडि राखेर देवी लक्ष्मीको आराधना गर्छन् । त्यसपछि अर्को दिन बिहान नयाँ बहीखाता खोलिन्छ र नयाँ आर्थिक वर्षको शुभारम्भ मानिन्छ ।
नेपाल संवत् आरम्भ
नेपाल संवत्को आरम्भको कुरा गर्दा यो शंखधर साख्वासँग जोडिएको छ । लोक कथाअनुसार, शंखधरले भक्तपुरको लखुटिर्थबाट ल्याइएको सुन भएको बालुवा पाएर त्यस सुनले काठमाडौँका सबै नागरिकलाई ऋणमुक्त गराए । त्यस दिनदेखि ‘नेपाल संवत्’ शुरू भएको विश्वास छ । त्यसैको निरन्तरता स्वरूप हरेक वर्ष म्हपूजाको दिन नयाँ संवत् शुरू हुन्छ । यस वर्ष पनि ११४६ नेपाल संवत् म्हपूजाको दिनबाट आरम्भ हुँदैछ ।
संस्कृति अध्येता राजोपाध्यायका अनुसार, ‘म्हपूजा र तिहार नेवार समुदायको मौलिकता हो । यो आत्म-सम्मान, आत्म-पवित्रता र सामाजिक प्रेमको प्रतिक हो ।’ उनका अनुसार यो परम्परा केवल नेवारहरूको घरभित्र सीमित छैन, यो नेपाली सांस्कृतिक चेतनाको हिस्सा हो । आज विश्वभर फैलिएका नेवार समुदायले पनि म्हपूजा मनाउँछन्, जहाँ उनीहरूले आफूलाई, आफ्नो संस्कृतिलाई र आफ्नो जन्मभूमिलाई सम्झिन्छन् ।
नेवारहरूको तिहार आत्म-उज्यालोको पर्व हो । जसमा केवल बत्ती बाल्ने वा घर सजाउने होइन, आफूलाई चिन्ने, आत्मालाई सम्मान गर्ने, र नयाँ वर्षलाई नयाँ ऊर्जासँग स्वागत गर्ने परम्परा समाहित छ । लक्ष्मीपूजाबाट आर्थिक वर्षको अन्त्य, म्हपूजाबाट आत्म-पूजा र नयाँ वर्षको शुरूआत, अनि भाइपूजाबाट ममता र सम्बन्धको सम्मान, यी सबै मिलेर नेवारहरूको तिहार उज्यालो, आत्मबोध र संस्कृतिको संगम बन्छ ।
राजोपाध्यायले आगामी ११४६ नेपाल संवत्को शुरूआतसँगै, नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई नेवार समुदायको यो आत्मीय पर्वले शान्ति, समृद्धि र आत्म-उज्यालोको शुभकामना प्रदान गरोस् भन्ने कामना गरेका छन् ।