arrow

तिहारको पाँचौँ दिनः गरियो गोवर्द्धन, बलि, गोरु र हलि पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
tihar.JPG

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज (बुधवार) गोवर्द्धन, बलि, गोरु, हलि एवम् कृषकको पूजाआजा गरी मनाइएको छ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजाआजा गरिएको छ। द्वापर युगमा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा यो पूजा गर्ने प्रचलन बसेको हो। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, गोवर्द्धन पूजा कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता छ।

त्यसैगरी, दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र 'देउ शिर रे' भनी देउसी खेल्ने परम्पराको सुरुआत गरेको विश्वास गरिएकाले आज उनको पनि पूजा आराधना गरिएको छ।

प्राचीनकालदेखि नै कृषिकर्मका लागि महत्त्वपूर्ण योगदान गर्दै आएका र महादेवको वाहनका रूपमा पूजिने गोरु (साँढे) लाई आज पूजा गरी मीठामीठा खानेकुरा दिइएको छ। यसो गर्दा वर्षभर गोरु खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ। यसैगरी, गोरु जोत्ने हलिलाई पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ। यसैले आजको दिनलाई हलतिहार पनि भनिन्छ।

वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिइएको छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, तिहारमा काग, कुकुर, गाई, गोरु, हलि र कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्त्व रहेको सांस्कृतिक अर्थ दिन्छ र यसले वैदिक दर्शनको महत्त्वलाई स्थापित गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ