रामेछाप । केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो । दशैँ सकिएलगत्तै युवाहरूले देउसी-भैलोको तयारी शुरू गर्थे । कोही मादलमा खरी हाल्न मिस्त्री कहाँ पुग्थे । कोही दर्जीका घरमा बाजा मिलाउन र ताल सिक्न व्यस्त हुन्थे ।
टोलका सबै उमेरका मानिसहरू मिलेर नाचगान र बाध्यवादनको अभ्यास गर्थे । त्यतिबेला देउसी-भैलो केवल रमाइलो होइन, सांस्कृतिक प्रदर्शन र सामुदायिक एकताको प्रतीक थियो ।
तर अहिले त्यो मौलिकता हराउँदै गएको छ । रामेछापको मन्थली बजारका धेरै ठाउँमा साँझ खेलिएका देउसी-भैलोमा अब न त पुराना बाजा सुनिन्छन्, न मौलिक गीत र नाच देखिन्छ । माइक र स्पिकरमा बजाइएका आधुनिक गीतमा युवा-युवतीहरू नाचगानमा रमाइरहेका देखिन्छन् ।
स्थानीय कलाकारको सट्टा रेडिमेड संगीत र बजारिया शैलीको नाचले तिहारको मौलिक स्वाद फिका बनाइदिएको स्थानीय बासिन्दाहरू बताउँछन् ।
‘पहिले गाउँमा आफ्नै बाजा, आफ्नै गीत र आफ्नै नाच हुन्थ्यो, अब त सबै ठाउँमा माइकको आवाज मात्र सुनिन्छ’, मन्थली-१ का दामोदर घिमिरे भन्छन् ।
आधुनिकता र प्रविधिको असरले द्यौसी-भैलोको मौलिक स्वरूप कमजोर बन्दै गएको हो । एकातिर नयाँ पुस्ता परम्परागत ताल, गीत र नाच सिक्ने अवसरबाट टाढा हुँदै गएको छ, अर्कोतिर तिहारलाई केवल मनोरञ्जनको पर्वका रूपमा सीमित गर्ने प्रवृत्तिले पनि यसको सांस्कृतिक गहनता घटाएको छ ।
सांस्कृतिक जीवनको आत्मा बनेको द्यौसी-भैलो अब पुनर्जीवित गर्न स्थानीय समुदाय र विद्यालय स्तरमै परम्परागत नाच-गान र बाजा सिकाउने पहल आवश्यक रहेको संस्कृतिका ज्ञताहरू बताउँछन् ।