गुडिसन पार्क । इङलिश प्रिमियर लिग फुटबलमा एभर्टनले गोलको वर्षा गरेको छ । घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एएफसी बर्नमाउथलाई हराउने क्रममा एभर्टन ६–३ ले विजयी भयो ।
एकै खेलमा ९ गाृेल भएकामा एभर्टनका लागि रोमेलु लुकाकु एक्लैले चार गो गरे । पहिलो मिनेटमै गोलको खाता खोलेका लुकाकुले ८४ मिनेटसम्म गोल गरिरहेका थिए ।
जेम्स म्याक्कार्थी र रोस बार्कलीले एक एक गोल जोडे । पराजित बर्नमाउथका जोसुआ किङले दुई गोल गरे ।
त्यस्तै टोटनह्याम हट्सपरले मिडिल्सब्रोलाई १–० ले हराउँदै दोस्रो स्थानका लागि स्पष्ट तीन अंकको अन्तर बनाएको छ । ५८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीबाट निर्णायक गोल गरेका थिए ।
अन्य खेलमा सन्डरल्याण्डले क्रिष्टल प्यालेसलाई ४–० ले हरायो । वेष्टह्यामले साउथह्याम्पटनलाई ३–१ ले हरायो । वाटफोर्डले बर्नलेलाई २–१ ले हरायो । वेष्टब्रोमले स्टोक सिटीलाई १–० ले हरायो ।
लिभरपुल भने फेरि पनि लत्रिएको छ । लिभरपुललाई हल सिटीले २–० ले हराएको हो ।
यो खेलपछि लिभरपुल २४ खेलबाट ४६ अंकसहित चौथो स्थानमा छ । ४७ अंकको आर्सनल तेस्रो स्थानमा रहँदा टोटनह्यामको ५० अंक छ । शीर्ष स्थानमा कायमै रहेको चेल्सीको ५९ अंक छ ।