वर्षमा एकपटक मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा भाइटीका [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
957
Shares
काठमाडौँ । तिहारको मुख्य दिन भाइटीकाका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेहरूको बिहानैदेखि भीड लागेको छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूका लागि वर्षमा एकपटक आजकै दिनमात्र बालगोपालेश्वर मन्दिर खुलाउने परम्परा रहेको छ। दिदीबहिनी नहुनेहरू यस मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्।
तिहारको पाँचौँ दिन आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन्।
शास्त्रीय मान्यताअनुसार, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन्। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ। लक्ष्मी पूजाका दिन स्थापना गरिएको दीप, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ। परापूर्वकालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई पृथ्वी लोकमा भेट्न आएको र यमुनाले उनलाई निमन्त्रणा गरी भाइटीका लगाएको पौराणिक कथा रहेको छ।