कुमारी बैङ्कद्वारा जीवित देवी ‘कुमारी’ तृष्णा शाक्य (निवर्तमान) लाई छात्रवृत्ति रकम हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
2.1k
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले विगतका वर्षहरूमा सङ्कलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहका बीच हस्तान्तरण गरेको छ।
बैङ्कले वसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि प्रत्येक वर्ष एक लाख रुपैयाँका दरले छात्रवृत्ति कोष स्थापना गरी रकम जम्मा गर्दै आएको छ। यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात् उनको शैक्षिक यात्रामा सहयोग पुर्याउनु हो।
सोही परम्परालाई निरन्तरता दिँदै, बैङ्कले कोषमा जम्मा भएको कुल रकम रु. ७ लाख ३८ हजार ८ सय ११ रुपैयाँ ९५ पैसा छात्रवृत्ति स्वरूप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको हो।
२४ वर्षदेखि निरन्तर बैङ्किङ सेवा प्रदान गर्दै आएको कुमारी बैङ्कले देशभर ३०२ शाखा सञ्जाल, ५० विस्तार काउन्टर, ४८ शाखारहित बैङ्किङ इकाई तथा ३१७ स्वचालित टेलर मेसिन (एटिएम) मार्फत सेवा प्रदान गर्दै आएको छ। बैङ्कले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षणका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनमा यस्ता सामाजिक योगदानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।