arrow

विद्युत प्राधिकरण र निजी क्षेत्रबीचको विवाद संवादबाट टुंग्याउन अपील                                                                 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
hikmat-karki-koshi-cm-81-6-1.jpg

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच देखिएको विवादलाई तत्काल वार्ता र संवादमार्फत टुंग्याउन अपील गरेका छन् ।

मुख्यमन्त्री कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरूमा विद्युत् आपूर्ति रोकिँदा उत्पादन, रोजगारी र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको जनाउँदै दुवै पक्षलाई छलफल र सहकार्यको बाटोमा फर्किन आग्रह गरे ।

उनले भने, ‘उद्योग बन्द हुँदा अर्थतन्त्रमात्र होइन, हजारौँ परिवारको रोजगारी संकटमा पर्छ । वार्ता र समन्वयबाटै समस्या समाधान गर्नुपर्छ ।’ 

मुख्यमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा निजी उद्योग, सुपर मार्केट, कलकारखाना र सञ्चार माध्यममा भएको तोडफोड र आगजनीले लगानीकर्तामा डर र असुरक्षाको वातावरण बनाएको बताए ।

उनका अनुसार यस्तो अस्थिरताले स्वदेशी तथा विदेशी लगानी कर्ता दुवैलाई निरुत्साहित बनाउने खतरा देखिएको छ ।

कार्कीले हाल नेपालको आर्थिक समस्या क्रमशः सुधारतर्फ उन्मुख भइरहेका बेला पुनः विवाद र असमझदारीले प्रतिकूल प्रभाव पारेको बताए । 

‘अर्थतन्त्रमा सुधारको संकेत देखिँदैछ, तर विवाद र अविश्वासको वातावरणले त्यो प्रयासलाई कमजोर बनाइरहेको छ’, उनले उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीका अनुसार सरकार र निजी क्षेत्रबीच लामो समयसम्म असमझदारी रहनु देशको आर्थिक भविष्यका लागि घातक हुन्छ । 

उनले भने, ‘निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो। त्यसको संरक्षण, प्रोत्साहन र समस्या समाधान राज्यको दायित्व हो ।’ 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले अभिभावकको भूमिकामा रहेर सबै पक्षलाई एउटै मञ्चमा ल्याएर स्थायी समाधानका लागि पहल अघि बढाउने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ