युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस मनाइँदै
दिगो शान्तिका लागि पृथ्वीको सुरक्षा अनिवार्य
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
680
Shares
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) को अगुवाइमा आज (नोभेम्बर ६) 'युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस' विश्वका विभिन्न मुलुकमा मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना फैलाउने उद्देश्यले सन् २००१ देखि यो दिवस मनाउन थालिएको हो।
संयुक्त राष्ट्रसङ्घले दिगो शान्ति स्थापना र द्वन्द्वको रोकथामका रणनीतिहरूमा वातावरणीय सुरक्षालाई महत्त्वपूर्ण अङ्गका रूपमा समावेश गरेको छ। यो विश्व संस्थाले जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्षणबाट नै दिगो शान्ति सम्भव हुनेमा जोड दिँदै आएको छ।
युद्धका क्रममा पानीका मुहान प्रदूषित हुने, बाली डढाइने, वन फँडानी हुने, माटो विषाक्त बन्ने र जनावरको हत्या हुनेजस्ता गतिविधिले वातावरणमा गम्भीर असर पार्ने गरेको छ। युएनइपीका अनुसार, बितेका ६० वर्षमा भएका सबै आन्तरिक द्वन्द्वमा काठ, हीरा, सुन, तेलजस्ता बहुमूल्य स्रोतदेखि उर्वर भूमि जमिन र पानीका स्रोतको कम्तीमा ४० प्रतिशत दुरुपयोग भएका छन्।
यसै अवसरमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षा अनिवार्य रहेको भन्दै विश्वका सबै देशलाई जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको दुरुपयोग विरुद्ध एकजुट हुन आग्रह गरेका छन्। महासचिव गुटेरेसले "हामीले पृथ्वीको रक्षा नगरेसम्म मानव सभ्यता सुरक्षित रहन सक्दैन। युद्ध र वातावरणीय विनाशविरुद्ध लड्नु नै दिगो शान्ति र विकासको मार्ग हो" भनी जोड दिएका छन्।