arrow

राष्ट्रसङ्घको मानव अधिकार समीक्षा बहिष्कार गर्ने दोस्रो देश बन्यो अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
OHCHR.jpg

काठमाडौँ। नियमित संयुक्त राष्ट्रसङ्घीय प्रक्रियाको रूपमा हुने विश्वव्यापी आवधिक समीक्षाबहिष्कार गर्ने दोस्रो देश बन्दै संयुक्त राज्य अमेरिकाले शुक्रबार आफ्नो मानव अधिकार रेकर्डको समीक्षाका लागि उपस्थिति नजनाएको हो।

संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्का अध्यक्ष जुर्ग लाउबरले सत्रको उद्घाटन गर्दै अमेरिकी प्रतिनिधिमण्डल अनुपस्थित रहेको पुष्टि गरे। संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रहरूले प्रत्येक चारदेखि पाँच वर्षमा गर्ने यस समीक्षामा अमेरिकाको अनुपस्थिति खासै आश्चर्यको कुरा थिएन, किनकि वाशिङ्गटनले अगस्टमा नै यो प्रक्रिया बहिष्कार गर्ने जानकारी गराएको थियो। यद्यपि, स्थानीय अमेरिकी अधिकारी र अधिकार समूहहरू भने राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएदेखि उत्पन्न आफ्नो चिन्ताहरू सूचीबद्ध गर्न जेनेभा पुगेका थिए।

समीक्षामा उपस्थित अन्य मुलुकहरूले वाशिङ्गटनको यस कदमको निन्दा गरेका छन्। चिनियाँ प्रतिनिधिले वाशिङ्गटनको ‘युपिआर संयन्त्रप्रति सम्मानको कमी’ देखाएको भन्दै आपत्ति जनाए। त्यस्तै, क्युबाका प्रतिनिधिले अमेरिकी सरकार 'यस अभ्यासको परिणामबाट डराएको' आरोप लगाउँदै वाशिङ्गटनले 'मानव अधिकार परिषद् र संयुक्त राष्ट्रसङ्घीय प्रणालीलाई कमजोर पार्ने' प्रयास गरेको बताए।

परिषद्ले अमेरिकी प्रतिनिधिमण्डल अनुपस्थित रहेको थाहा पाएपछि तुरुन्तै ‘समीक्षा अन्तर्गत रहेको राज्यको असहयोग’ सम्बन्धी निर्णय गरेको थियो। परिषद्ले अमेरिकालाई युपिआर संयन्त्रसँगको सहकार्य पुनः सुरु गर्न आह्वान गर्दै सन् २०२६ को अन्त्यतिर अमेरिकी युपिआर पुनः तालिकाबद्ध गर्ने निर्णय गरेको छ।

स्मरण रहोस्, यसअघि सन् २०१३ मा इजरायल पनि आफ्नो युपिआरको लागि उपस्थित भएको थिएन र अहिलेसम्म यसरी समीक्षा नगर्ने इजरायल मात्र एक मुलुक रहेको थियो। यद्यपि, इजरायलले १० महिनापछि स्थगित प्रणालीको समीक्षा गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ