काठमाडौँ। नेपाली क्रिकेट समर्थकहरूले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइटमा सुरु हुँदैछ। दोस्रो संस्करण नजिकिँदै गर्दा सहभागी आठवटै फ्रेन्चाइज टोलीले आ-आफ्नो तयारी तीव्र पारेका छन्।
गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स यसपटक च्याम्पियन बन्ने लक्ष्यका साथ तयारीमा जुटेको छ। लामो समय राष्ट्रिय टोलीको प्रशिक्षक रहेका जगत टमटा को प्रशिक्षणमा टोली मूलपानी क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ।
प्रशिक्षक टमटाले हरेक खेलाडीले मेहनत गरेर तयारी गरेको र विदेशी खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद् प्रदर्शन गरेको बताएका छन्। यद्यपि, यसपटक सबै टोली बलियो भएकाले हरेक खेल चुनौतीपूर्ण हुने उनको भनाइ छ। उनले स्वदेशी खेलाडीहरूलाई फ्लड लाइटमा खेल्न सहज नहुने चुनौती रहे पनि टोलीले त्यसअनुरूप तयारी गरेको उल्लेख गरे। टमटाले आफ्नो टोली सन्तुलित बनेको र च्याम्पियन हुनका लागि 'बेटर क्रिकेट' खेल्ने विश्वास व्यक्त गरे।
कप्तान दीपेन्द्र सिंह ऐरी को नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्समा अनुभवी ब्याटर तथा विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, हेमन्त धामी, इशान पाण्डे, नरेन साउद र टेक रावत समावेश छन्। टोलीले यसपटक उत्कृष्ट लयमा रहेका अलराउन्डर हर्मित सिंह का साथै विदेशी खेलाडीतर्फ स्कट कुग्गेलिजन, क्रिस लिन र जोस ब्राउन लाई अनुबन्ध गरी आफूलाई थप बलियो बनाएको छ।
गत संस्करणमा सुदूरपश्चिम रोयल्स फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो। यसपटक रोयल्स त्यो हारको बदला लिँदै उपाधि जित्नेमा आशावादी छ। टोलीले आइतबार सुदूरपश्चिमका विभिन्न स्थानमा दुई दिने ट्रफी टुर पनि सम्पन्न गरेको छ।