महाधिवेशनसम्बन्धी विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउन सक्छ - शेखर कोइराला
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
3.3k
Shares
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन्।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने बताए। नेता कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको जानकारी दिए।
उनले उक्त हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया सुरु भएको दिनदेखि नै काँग्रेस विभाजनको सम्भावना रहेको भन्दै केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएका छन्। "विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ। त्यसमा हस्ताक्षर प्रमाणीकरण शुरू गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ," उनले भने। उनले बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शङ्का नरहे पनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा जोड दिएका छन्। उनले पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गी भूमिका खेलिरहेको पनि बताएका छन्।