जेन-जी प्रदर्शनमा संलग्न थप पाँच जना काभ्रेपलाञ्चोकबाट पक्राउ
फरार कैदीबन्दी र जरिवाना असुलीमा पनि सफलता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
824
Shares
काभ्रेपलाञ्चोक । जेन-जी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नपा–३ का २२ वर्षीय रवीन्द्र परियार र वडा नं ८ का १९ वर्षीय अभि सुधाकार तथा दोलखाको जिरी नपा–१ का २७ वर्षीय भीम तामाङ रहेका छन्।
पक्राउ परेकामध्ये भोलनविरुद्ध लागुऔषध मुद्दा र सुधाकारविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको थियो। पक्राउ परेकाको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि जेन-जी आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले छवटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको बताएका छन्। प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको थियो।
यसैबीच, जेन-जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरी सम्बन्धित कार्यालय पठाइएको छ।
प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा अदालतले फैसला कार्यान्वनका लागि पठाएका करिब छ सय व्यक्तिको सूचीका आधारमा ५३ जना कैद तथा जरिवना तोकिएका व्यक्तिलाई पक्राउ गरेको छ। विष्टका अनुसार कात्तिक मसान्तसम्म पक्राउ परेका ५३ जना व्यक्तिबाट १२ वर्ष आठ महिना सात दिन कैद र रु दुई करोड ६७ लाख ५९ हजार ९०० जरिवना असुल भएको छ। तर, अदालतले दिएको सूचीका आधारमा अझै ५४३ जना कैद तोकिएका व्यक्ति फरार रहेको जनाइएको छ।