काठमाडौँ। विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ। सन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो, जसको अगुवाइ राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले गर्ने गरेको छ।
यस दिवसमा बालबालिकाका आवाज सुन्ने तथा उनीहरूको अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ। युनिसेफले यस अवसरमा विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ। युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गर्नुभएको छ।
यसका साथै, आज अफ्रिका औद्योगिकीकरण दिवस पनि हो। दिगो र समावेशी औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर संयुक्त राष्ट्रसङ्घले अफ्रिकाको दिगो औद्योगिक विकासमा जोड दिएको छ। अफ्रिकी अर्थतन्त्रलाई थप सक्षम बनाउन, उत्पादन क्षमता वृद्धि, रोजगारी सृजना, आर्थिक विविधीकरण र गरीबी न्यूनीकरणका विषयलाई यो दिवसमा विशेष रूपमा उठाइन्छ।