काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन गएको मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।
मंगलबार सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेन–जीलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोकमात्र लगाएन धकेल्दै अनामनगर पुल कटाएको थियो ।
यसैबीच प्रधानमन्त्री कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै जेन–जी समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ । कार्कीले जेन–जी पुस्ताको माग सम्बोधन नगरेको तथा भेट्नसमेत नदिएको भन्दै मिराज ढुंगाना समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको हो । सिंहदरबार प्रवेश गर्न खोज्दा ढुंगाना समूह र प्रहरीबीच धकेलाधकेलसमेत भएको हो ।
प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेन-जी पुस्ताको मागप्रति गम्भीर नभएको आरोप लगाए । उनले आफूहरुले सुशासन मागेकै भए पनि प्रधानमन्त्रीले जेन-जीका माग पूरा नगरी निर्वानको मात्र रटान लगाइरहेको आरोपसमेत लगाए ।
आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नछोड्ने उनको चेतावनी छ ।
यसअघि सोमबारसमेत ढुंगानासहितको टोली प्रधानमन्त्री कार्कीलाई माग पत्र बुझाउन सिंहदरबार गएको थियो । सिंहदरबार प्रवेश गर्न नपाएपछि उक्त समूहले सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको थियो ।