देशलाई निकास दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य [भिडियो]
पुराना राजनीतिक दलका नेताहरूलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरूबीच आपसमा सहकार्य आवश्यक
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
839
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर हाल स्वतन्त्र रहँदै आएकी पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकास दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएकी छिन्।
बुधबार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै उनले 'जेन–जी विद्रोह' मार्फत अपदस्थ भएका पुराना राजनीतिक दलका नेताहरूलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरूबीच आपसमा सहकार्य आवश्यक रहेको धारणा राखिन्। उनले आफू वैकल्पिक शक्तिहरूलाई एकतामा ल्याउने कार्यमा व्यस्त रहेको उल्लेख गर्दै भनिन्, "धेरै जनाले सोध्छन्, सुमना कहाँ छ? सुमना एकतामा छ।"
श्रेष्ठले फराकिलो दृष्टिकोणसहित साझा एजेन्डामा आबद्ध हुन आग्रह गरिन्। उनले अबको बाटो सुशासन, विधिको शासन, विभेदरहित समाज निर्माण तथा समान अवसर प्रदान गर्ने दिशामा हुनुपर्नेमा जोड दिइन्। उनले उज्यालो पार्टी नेपाललाई 'नागरिकको पार्टी' बनोस् भन्ने शुभकामना समेत दिइन्।