arrow

'स्वस्थ्य माटोका लागि स्वस्थ्य सहर' नारासहित विश्व माटो दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
mato-diwas-soil-day-hamrakura.jpg

काठमाडौँ। आज देशभरि 'स्वस्थ्य माटोका लागि स्वस्थ्य सहर' भन्ने नाराका साथ १२औँ विश्व माटो दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले यो दिवस मनाइरहेका छन्।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धि गर्न प्रत्येक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाउने गरिएको छ।

खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि यो दिवस मनाउन थालिएको हो। 

नेपालमा भने सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुआतसँगै यो दिवस मनाउन थालिएको थियो। दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वराशक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण गर्नु यस दिवसको मुख्य उद्देश्य हो।

मन्त्रालयले मङ्सिर १४ गतेदेखि दिवस मनाउन सुरु गरेकोमा आज (शुक्रबार) मूल कार्यक्रम गरी १२औँ विश्व माटो दिवस मनाउन लागिएको हो। यस वर्ष कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, एफएओ, नेपाल माटो विज्ञान समाज र विभिन्न निकायको सहकार्यमा दिवस मनाउने तयारी गरिएको छ।

डिजिटल माटो नक्साको तथ्याङ्कअनुसार नेपालमा जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत क्षारीय प्रकृतिको रहेको छ। पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय पाइएको छ। साथै, नेपालको अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम (करिब ३७ प्रतिशतमा कम) पाइएको छ, विशेषगरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा यो मात्रा कम रहेको छ। 

नेपालमा प्रतिवर्ष करिब १.८ मिलिमिटर माथिल्लो सतहको माटो भूक्षयका कारण ह्रास हुने गरेको तथ्याङ्क छ। नाइट्रोजन करिब २८ प्रतिशत माटोमा कम पाइएको छ, भने फस्फोरस र पोटास पनि धेरै स्थानमा असन्तुलित अवस्थामा रहेको पाइएको छ। सूक्ष्म पोषकतत्वअन्तर्गत जिङ्क, बोरोन (विशेषगरी पूर्वी नेपालमा) र मोलिडेनमको मात्रा सामान्यतया कम देखिएको विभागले जनाएको छ। यस अवसरमा आज विभागमा औपचारिक रूपमा कार्यक्रम गर्न लागिएको आयोजक समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ