सिरियाको सङ्क्रमणकाल नाजुक, ‘प्रतिकार र प्रतिशोधको चक्र’ अन्त्य हुन बाँकी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
1.8k
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका अन्वेषकहरूले आइतबार सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्ष पुग्दा पनि देशको सङ्क्रमणकाल नाजुक रहेको र प्रतिकार तथा प्रतिशोधको चक्र अन्त्य हुन बाँकी रहेको बताएका छन्।
इस्लामिक नेतृत्वको सेनाले करिब १४ वर्षको युद्धपछि सन् २०२४ डिसेम्बर ८ मा असदलाई सत्ताच्युत गरी सत्ता परिवर्तन गराएको थियो। तर, देशमा शासक परिवर्तन भएको एक वर्ष पूरा भए पनि सर्वसाधारणले परिवर्तनपछिको अपेक्षित लाभ प्राप्त गर्न नसकिरहेको सिरियाली राजनीतिबारे जानकार विश्लेषकहरूले जनाएका छन्।
सिरियामा सन् २०११ मार्चदेखि सबै अन्तर्राष्ट्रिय मानवअधिकार कानून उल्लङ्घनका घटनाहरूको अनुसन्धान गर्दै आएको संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय जाँचबुझ आयोगले असदको शासनले गरेको दुर्व्यवहारको ‘भयानक सूची’ लाई ‘औद्योगिक आपराधिक हिंसा’ को संज्ञा दिएको छ।
आयोगले असदको पतनपछिका हिंसात्मक घटनाहरूले नयाँ विस्थापन र ध्रुवीकरण निम्त्याएको र यसले ‘देशको भविष्यको दिशाको बारेमा चिन्ता बढाएको’ जनाएको छ। आयोगका अनुसार सिरियाको सङ्क्रमणकाल ‘कमजोर’ परिवर्तनसहित अघि बढिरहेको छ। देशभरिका धेरैले सत्ता परिवर्तनको वार्षिकोत्सव मनाउने तयारीमा जुटे पनि अन्य नागरिकहरू आफ्नो वर्तमान सुरक्षाको लागि डराइरहेका छन्। सुरक्षाका कारण धेरै यस जाडोमा फेरि विस्थापित भई शिविरमा पालमुनि दिनरात विताउन बाध्य हुनुपर्ने देखिएको छ। सिरियामा जबरजस्ती बेपत्ता पारिएका हजारौँको ‘अज्ञात’ भाग्य एक खुला घाउ हो।
आयोगले सिरिया एक राष्ट्रको रूपमा भविष्यतर्फ अघि बढ्नका लागि बदला र प्रतिशोधको चक्रलाई अन्त्य गरिनुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्ले उल्लङ्घनका अपराधीहरूलाई जवाफदेही बनाउने उद्देश्यसहित कार्यरत तीन सदस्यीय आयोगको जिम्मेवारी अप्रिलमा थप एक वर्षका लागि थप गरेको थियो।