पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिन रोक्नु हुँदैन: ईश्वर पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
2.3k
Shares
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन्।
बुधबार काठमाडौँमा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको बताए। उनले विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेन्डाको रूपमा उठाउनुपर्ने विषय नै नरहेको पनि स्पष्ट पारे।
उनले भने, "विद्याजीको सदस्यताको बारेमा हाम्रो बुझाई के हो, मत के हो भने राज्यको संविधानले रोक्दैन भने, पार्टीको विधानले रोक्दैन भने, अन्तराष्ट्रिय प्राक्टिसले रोक्दैन भने, व्यक्तिको चाहना छ भने किन नपाउने? पाउनुपर्छ।" उनले यो सदस्यताको विषय 'ओपन' रहेको बताए।
यसका साथै, वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीका बारेमा आफूले प्रश्न उठाउँदै आएको पनि बताए। उनले पार्टीभित्र जनताको बहुदलीय जनवाद (जबज) को बारेमा कुनै मतभिन्नता नरहेको भएपनि कार्यशैलीभित्र भने व्यापक मतभिन्नता रहेको बताए।