माधव-भीमको दृष्टान्त लागू हुँदैन, हारे पनि एमालेमै रहन्छौँ : ईश्वर पोखरेल [भिडियो]
पराजयलाई पनि स्वीकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
737
Shares
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा आसन्न ११औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित भए पनि आफूहरूले माधव नेपाल र भीम रावलको जस्तो नयाँ छुट्टै पार्टी खोलेर जाने दृष्टान्त लागू नगर्ने स्पष्ट पारेका छन्।
बुधवार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिस्पर्धामा जाने जो कोहीले पराजयलाई पनि स्वीकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने कुरामा आफूहरू सचेत रहेको बताए। उनले भने, "एउटा समस्या हामीमा के छ भने प्रतिस्पर्धा गर्न तत्पर हुने तर प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने। यो राजनीतिक संस्कारका रहेको कमजोरी हो।" उनले थपे, "हामी दृढतापूर्वक के कुरामा उभिन्छौँ भने प्रतिस्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार गरिन्छ। हामी जित्दा मात्रै खुशी हुने होइन। जित्न नसक्दा पनि त्यसलाई स्वीकार गर्नुपर्छ।"
पोखरेलले महाधिवेशनमा आफूहरू विजय हुने विश्वास व्यक्त गर्दै यदि प्रतिस्पर्धाको परिणाम अनुकूल नआए पनि "हामी नेकपा एमाले भएर नेकपा एमालेको पक्षमा नेकपा एमाले भएर सधैं रहिरहन्छौँ। यसमा किञ्चित पनि तलमाथि हुँदैन।"
वरिष्ठ नेता पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व भन्दा पनि कार्यशैलीप्रति आफूहरूको प्रश्न रहेको पनि दोहोऱ्याएका छन्।