एकै परिवारका चार सन्तान अपाङ्ग; ४ माना चामल सापटी पनि पाएन हर्कबीरको परिवारले
एकै परिवारका चार सन्तान अपाङ्ग; ४ माना चामल सापटी पनि पाएनन हर्कबीरको परिवा
प्रकाशित २०७२ पुष ९ बिहिबार
876
Shares
जितेन्द्र भण्डारी, पाँचथर। बाइस वर्षको लक्का जवानीमा बैबाहिक बन्धनमा बाँधिदा पाँचथर इम्बुङ–७, कोल्बुङका हर्कबीर तामाङले पनि जीवनका सुनौला सपनाहरु देख्नु भएको थियो । सन्तान प्राप्ती र त्यसपछिको अपूर्व आनन्दको कल्पना गरेर रोमाञ्चित बन्नुभएको थियो । तर तामाङको त्यो सुनौलो सपना त्यतिबेला घोर शून्यतामा बिलायो, जतिबेला एकपछि अर्को गर्दै आफ्ना चार सन्तान गम्भिर अपाङ्गताको शिकार हुन पुगे । अपाङ्गता हुनुको चरम पीडामा पिल्सिएको तामाङ परिवारले भोग्नु परेको पीडा साँच्चै मर्मस्पर्शी र कारुणीक छ ।
तामाङका जेठा छोरा खड्क बहादुरले जीवनका ३७ वसन्त पार गरे, तर २५ वर्ष भयो उनको जीवन ओछ्यानमै बितिरहेको छ । एक पाइला सर्न पनि सहयोगिको आवश्यकता पर्ने खड्कको लागि ओछ्यानमै राखिएको छ दुई वटा बट्टा। त्यसैमा दिशा–पिशाव गर्छन् खड्क। त्यसलाई पनि अरुले नै व्यवस्थापन गरिदिनुपर्छ । खड्कका बहिनी शिरमाया २१ वर्ष पुगिन् । झनै कारुणीक छ शिरमायाको कथा । ३ वर्षको हुँदादेखि दाजुकै नियति भोगिरहेकी उनी दिशा आएको त चाल पाउँछिन् तर पिशाव आएको चाल पाउँदिनन् । उनको पिशाव तर्काउन उनी सुत्ने–बस्ने ओछ्यानमा प्लाष्टिक ओछ्याइएको छ ।
खड्कका साइला भाई महेन्द्र (२२) र कान्छी बहिनी तारा (१७) पनि मुस्किलले बाहिर–भित्र मात्र गर्न सक्छन्। महेन्द्र ट्वाइलेट बसेपछि आफै उठ्न सक्दैनन् । महेन्द्रको तुलनामा तारा केही सवल छिन्। तर उनीहरुको पनि हात–खुट्टा सुक्दै जाने क्रम बढेर गएको छ, जस्तो खड्क र शिरमायाको अवस्था छ । ‘यिनीहरु पनि बिस्तारै हामी जस्तै हुन्छन् होला सर’खड्कले भने ‘पहिलेभन्दा धेरै कमजोर भइसकेका छन्, कान्छा भाई बद्रीको पनि हात–खुट्टा सुक्न थालेको छ सर ।’आफ्ना चार सन्तानको यस्तो अवस्था भएपछि बाबु हर्कबीरले १७ वर्षअघि मानसिक सन्तुलन गुमाए । हर्कबीर छिनमै राम्ररी कुराकानी गर्छन् छिनमै असामान्य बन्न पुग्छन् । हर्कबीरका ६३ वर्षिया श्रीमति धनमाया, माइला छोरा कृष्ण र कान्छा बद्रीले सिङ्गो परिवार धानिरहेका छन् जसोतसो । ‘दुई जना दिदी सपाङ्ग छन्, उनीहरु बिहे गरेर गइसके’ महेन्द्रले भने ।
छोरा–छोरीको उपचारको लागि हर्कबीर र धनमायाले प्रसस्तै धामीझाँक्रि लगाए । । तर उनीहरुको स्वास्थ्यमा सुधार आउँनु्को साटो झन् थलिंदै गए । वि.स.२०५५ सालमा सदरमुकाम फिदिममा स्वास्थ्य शिविर आउँदा हर्कबीरले डोकोमा बोकेर फिदिम पुर्याए खड्कलाई । त्यतिबेला थाहा भो उनलाई पोलियो रोग लागेको रहेछ । ‘अनि मात्र थाहा भो सर हामीलाई पोलियो लागेको रहेछ, नेपालमा यसको उपचार हुँदैन भने डाक्टरहरुले’ निरास हुँदै खड्कले भन्नुभयो, ‘आफ्नो र भाई बहीनिको रोगको उपचार नहुने थाहा भएपछि भाग्यमा यस्तै लेखेको रहेछ भनेर चित्त बुझाएँ ।’ खड्कलाई सम्झना छ, कक्षा–५ सम्म राम्ररी स्कुल धाएका थिए । बिस्तारै बिरामले च्याप्दै लग्यो । ‘जसोतसो ८ पाससम्म गरें त्यसपछि स्कुल जान सकिन, पढ्ने रहर त्यसै तुहियो सर’ उहाँले भन्नुभयो, ।
आफूहरु अपाङ्ग भएकै कारण समाजबाट समेत अपहेलित हुनु परेको महेन्द्रले बताउनुभयो । ‘हाम्रो जग्गा जम्मा ५ रोपनी छ, त्यो पनि पाखा भित्ता मात्र’ महेन्द्रले दुखेसो पोख्नुभयो, ‘अस्तिको दशैंमा आमाले गाउँलेसित ४ माना चामल सापटी माँग्दा तिमीहरुको धान फल्ने खेतै छैन, सबै काम गर्न नसक्ने मात्र छौं के गरेर तिर्छौ भनेर दिएनछन् ।’ अहिलेसम्म जसोतसो परिवारका अन्य सदस्यले हेरे पनि भविष्यमा बिचल्ली भइएला भन्ने चिन्ता छ तामाङ परिवारलाई । ‘आमा अब धेरै वर्ष बाँच्दिनन्, भाईहरुले आ–आफ्नै घरबार बसाएर गएपछि बिजोग भइएला भन्ने चिन्ता छ सर’ खड्कले कारुणीक स्वरमा भन्नुभयो । अरुको समस्या पनि खड्ककै जस्तो भएकोले सबैलाई पोलियो रोग लागेको शंका गरेका उनीहरुले राम्रो अस्पतालमा गएर स्वास्थ्य परिक्षण समेत गरेका छैनन् । बिहान–बेलुका हात मुख जोड्नै ठूलो समस्या रहेकोले हालसम्म स्वास्थ्य परिक्षण गर्न नसकेको उनीहरुको भनाई छ । ‘आफै जाने त अवस्था नै छैन, यसबारे कसैले पहल गरिदिए स्वास्थ्य परिक्षण गर्न जाने थियौं’ महेन्द्रले भन्नुभयो ।
उनीहरु राज्यबाट प्राप्त हुने सेवा–सुविधाको उपभोग गर्नबाट समेत बञ्चित छन् । एक पाइला पनि हिंड्न नसक्ने शिरमायाको अहिलेसम्म नागरिकता नै बनेको छैन । शिरमायाले अहिलेसम्म राज्यको तर्फबाट पाउँनुपर्ने कुनै किसिमको सेवा–सुविधा पाएकी छैनन् भने उस्तै अवस्थाका खड्कले भने गत साउन महिनादेखि मासिक १ हजार भत्ता पाउँदैछन् । यसबारे अपाङ्ग सेवा संघ पाँचथरमा पटक–पटक फोन गरे पनि संघले आफूहरुको पीडा बुझ्न नचाहेको खकड्ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघका अध्यक्ष नवीन ढुङ्गेलले तपाइँहरुको गाविसमा बजेट छुटिन्छ हामी पनि त्यहीं बजेट मार्फत् तपाइहरुकोमा आउँने हो त्यसपछि तपाइँहरुले पाउँनुपर्ने सेवा–सुविधा पाउँनुहुन्छ भनेको छ तर आजसम्म आएका छैनन् ।’
सम्बन्धित निकाय, गाउँका सामाजिक अगुवा, नेता कसैले पनि अहिलेसम्म आफूहरुको समस्या सम्बन्धित ठाउँमा पुर्याउँन सहयोग नगरेको तामाङ परिवारको गुनासो छ । ‘पहुँच नपुगेपछि आफूले पाउँनुपर्ने सेवा–सुविधा पाउँनबाट पनि बञ्चित हुनुपर्दो रहेछ सर, हाम्रो अवस्था त्यस्तै छ’खड्कले दुःख ब्यक्त गर्नुभयो । अहिलेसम्म कसैबाट पनि गतिलो सहयोग नपाएको तामाङ परिवारको भनाइ छ । रेडक्रसले एकपल्ट लत्ताकपडा र स्कुल पढ्दा विद्यालयले एकपल्ट स्कुल ड्रेस निशुल्क दिएको त्यसै सम्झना रहेछ खड्कलाई । उहाँले आफूहरुलाई प्राप्त सहयोगको सूचि बताउनुभयो– संकटकालको बेला माओवादीले दुई बोरा चामल र दुई पाथी दाल, पहिलो संविधानसभामा पाँचथर क्षेत्र नम्बर दुईबाट प्रत्यक्षतर्फका विजयी उमेद्वार डम्बरसिंह सम्बाहाम्फेले पाँच सय, दोस्रो संविधानसभामा पाँचथर क्षेत्र नम्बर दुईबाट प्रत्यक्षतर्फका विजयी उमेद्वार भीष्मराज आङदेम्बे र नेकपा मालेको तर्फबाट समानुपातिक सभाषद बनेका इम्बुङ नै घर भएका अइन्द्रसुन्दर नेम्बाङले एउटा ह्विलचियर र अस्तिको दशैंमा फिदिमका चक्र रम्तेलले २५ किलो चामल ।
‘अहिलेसम्म हामीले पाएको सहयोग यति हो सर’ खड्कले भने ‘तर ह्विलचियरको यहाँ काम छैन, त्यसैले फिदिममै राखिछोडेको छु ।’ आफूहरुको अवस्थालाई हेरेर राज्यले जीवन निर्वाह हुन सक्ने गरीको केही गरिदेओस भन्ने छ तामाङ परिवारलाई । खड्कले धेरै पटक भनिरहे ‘सर हाम्रो समस्यालाई चाहीं माथिसम्म पुर्याइदिनुहोस् है !’
आश्वासन मात्र दिए नेताहरुले
अपाङ्गता हुनुको चरम पीडा भोगिरहेको तामाङ परिवारलाई भेट्न विभिन्न पार्टीका केन्द्रीय तहका नेताहरु समेत पुग्ने गरेका रहेछन् । तर नेताहरुबाट आफूहरुले आश्वाशन मात्र पाएको तामाङ परिवारको गुनासो छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका हालको रुपान्तरित व्यस्थापिक संसदको उद्योग वाणिज्य तथा आपुर्ति व्यवस्थापन समितीका सभापति तथा दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नम्बर दुईबाट विजयी उमेद्वार भीष्मराज आङदेम्बेले तामाङ परिवारलाई भेटेको रहेछ । त्यस्तै नेकपा मालेका केन्द्रीय सदस्य तथा दोस्रो संविधनसभा निर्वाचनमा समानुपातिकबाट सभाषद बनेका आइन्द्रसुन्दर नेम्बाङ (जो इम्बुङबासी नै हुन्) ले पनि उनीहरुलाई भेट्न आएको आएको खड्कले बताए । ‘हामीलाई भोट दिनु हामी तपाइँहरुको समस्या बुझ्छौं भनेका थिए, भोट पनि दियौं तर जितेर गएपछि बिर्सिए’ खड्कले गुनासो पोखे । उहाँले थप्नुभयो अस्ति भूकम्प आउँदा हाम्रो घर चर्कियो र अइन्द्रसुन्दरलाई फोन गरें ए, के छ मेरो भाई ? त्यहाँ तपाइँहरुलाई तीन हजार दिन्छन्, गाविसमा बुझ्नु भनेर फोन राख्यो ।’ त्यस्तै पहिलो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नम्बर दुई बाट विजयी सभाषद तथा हाल नेकपा एमालेका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले पनि आफूलाई भेटेर पाँच सय रुपैंयाँ दिएको खड्कले बताए । सबै नेताले आश्वासन दिएको खड्कको भनाई छ । तर पनि खड्कले ती नेताहरुसंग आसा भने मारेका छैनन् । ‘मिलाउँदै होलान्, हाम्रो लागि केही गर्छन् भन्ने आसा मरेको छैन ।’