arrow

भारतको सबैभन्दा ठूलो महिला दौड ‘पिङ्केथन’ पहिलो पटक काठमाडौँमा

हाफ म्याराथनको विजेता तथा उपविजेतालाई आउँदो वर्ष मुम्बई म्याराथनमा सहभागि हुने अवसर

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
pinkthan-marothan.jpg

काठमाडौं। भारतको सबैभन्दा ठूलो महिला दौड प्रतियोगिता पिङ्केथन नेपालमा पनि पहिलो पटक आयोजना हुँदैछ। मुम्बईस्थित लेइजर पोर्ट र शिवम होलीडेज काठमाडौंले नेपालमा पहिलो पटक पिङ्केथन आयोजना गर्न लागेका हुन्। प्रतियोगिता फेब्रुअरी २४ तारिख अर्थात् फागुन १३ गते शुक्रवार महाशिवरात्रीको दिन हुँदैछ। चर्चित भारतीय सुपर मोडल, एथ्लेट तथा फिटनेस गुरु मिलिन्द सोमनले पाँच वर्षअघि भारतको मुम्बईबाट पिङ्केथन अभियान सुरु गरेका थिए।

आईरनम्यानको उपनामले चिनिने मिलिन्द सोमनको लोकल्याणकारी संस्था युनाईटेड सिस्टर्स फाउण्डेसनले महिलामा हुने स्तन क्यान्सरविरुद्ध सचेतना फैलाउन भारतका विभिन्न ८ शहरमा यो दौड गर्दै आएको छ। महिला मात्रै सहभागि हुन पाउने दौडमा २१ किलोमिटरको हाफ म्याराथन र १० किलोमिटर दौडमा प्रतिस्पर्धा हुने बताइएको छ। त्यसबाहेक महिला सशक्तिकरण, जागरण र सक्रियता बढाउन ३ र ५ किलोमटिरको र्‍याली हुनेछ। र्‍यालीमा  हरेक उमेर, समूह र क्षेत्रका महिला सहभागि हुनेछन्।

नाम दर्ता जारी
काठमाडौं पिङ्केथनको लागि अहिले नाम दर्ताको माम भइरहेको छ। हालसम्म झण्डै एक हजार जनाले नाम दर्ता गराइसकेका छन्। नाम दर्ता गर्ने म्याद फेब्रुअरी २० अर्थात फागुन ९ गतेसम्म हुनेछ। फागुन ९ अघिनै २ हजार जनाले नाम दर्ता गराइसकेका  खण्डमा नाम दर्ता बन्द हुने आयोजकले जनाएका छन्।

काठमाडौं उपत्यकामा रहेका नेपाल एसबीआई बैंकका शाखाहरुमार्फत नाम दर्ता गराउन सकिने व्यवस्था गरिएको छ। बैंकका केशर महल, नयाँ बानेश्वर, न्यूरोड, जावलाखेल लगायतका शाखाहरुमा नाम दर्ता गर्न सकिनेछ। यस्तै, ठमेलस्थित होटेल मनाङ, शिवम होलिडेज लाजिम्पाट, उत्साह नेपालको कार्यालय सितापाईला र भक्तपुर क्यान्सर अस्पतालमा गएर पनि नाम दर्ता गर्न सकिने बताइएको छ। यसैगरी, काठमाडौंस्थित ई सेवाको सम्पर्क कार्यालय वा केन्द्रहरुबाट पनि नाम दर्ता गराउन सकिनेछ। काठमाडौं पिङ्केथनको लागि नाम दर्ता गराउने सबैलाई फागुन ११ र १२ गते टि–सर्ट र बिब नम्बर बाँडिनेछ।

नेपाल एथ्लेटिक्स संघसँग सहकार्य
नेपाल एथ्लेटिक्स संघको सहयोगमा कार्यक्रम हुन लागेको बताइएको छ। जसका लागि नेपालमा प्रतियोगिता गर्ने अधिकार पाएको लेइजर पोर्ट र एथ्लेटिक्स संघबीच समझदारी भइसकेको छ। सम्झौता अनुसार प्रतियोगिताको सम्पूर्ण प्राविधिक जिम्मेवारी संघले बहन गर्नेछ। हाफ म्याराथनको विजेता तथा उपविजेतालाई अर्को वर्ष हुने मुम्बई म्याराथनमा सहभागि हुने अवसर मिल्ने बताइएको छ।

यसको सम्पूर्ण खर्च एवं जिम्मेवारी लेइजर पोर्ट मुम्बईले व्यहोर्नेछ। काठमाडौं पिङ्केथनको हाफ म्याराथनतर्फ सहभागि खेलाडीहरुलाई डिजिटल चिप्स र म्याटको माध्यमबाट टाईमिङ निकालिनेछ । नेपालमा पहिलो पटक कुनैपनि दौडमा यो प्रविधिको प्रयोग गर्न लागिएको हो।

के हुन्छ पिङ्केथनमा ?
काठमाडौं पिङ्केथनमा तीन वटा विधा रहने बताएको छ। महिला हाफ म्याराथन, महिला १० किलोमिटर दौड र ३–५ किलोमिटर जनचेतना र्‍याली हुनेछ । हाफ म्याराथन र १० किलोमिटर प्रतिस्पर्धात्मक ईभेन्ट हो। यो ईभेन्टका विजेताहरुको लागि नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ। यो इभेन्टमा नेपाल र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। ३–५ किलोमिटर चेतनामुलक र्‍याली हो। महिलाहरुमा हुने स्तन क्यान्सरबारे चेतना फैलाउन यो र्‍याली गर्न लागिएको हो। काठमाडौं पिङ्केथनको बेला नेपाल क्यान्सर रिलिफ सोसाईटीले महिलाहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षणको समेत व्यवस्था गर्दैछ। उक्त दिन बिहान दशरथ रंगशालाममा चर्चित भारतीय सुपर मोडल मिलिन्द सोमनले जुम्बा, योगा, डान्स र फिट्नेश प्रशिक्षण समेत दिने बताइएको छ।



नयाँ