राष्ट्रसङ्घमा नेपालको पहिलो विशेष प्रस्तुति: विश्व शान्तिका लागि ध्यानको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
679
Shares
काठमाडौँ| दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुति दिएको छ। नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा शुक्रबार ध्यानसम्बन्धी दुई अलग-अलग कार्यक्रम आयोजना गरेको हो।
प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले ‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ विषयमा विशेष प्रवचन दिनुका साथै योगाभ्यास र ध्यान गराए। यस कार्यक्रमले नेपाल उद्गमस्थल रहेको योग र आध्यात्मिक चेतनालाई विश्वभर फैलाउन सहयोग पुगेको प्रतिष्ठानले जनाएको छ।
गुरु भानु शर्माले आधुनिक विश्वका चुनौतीहरूको सामना गर्न मनको स्थिरता अनिवार्य रहेको स्पष्ट पारे। उनले परम्परागत कूटनीतिसँगै अब आन्तरिक जागरण र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको पूर्वाधारका रूपमा स्वीकार गरिनुपर्नेमा जोड दिए। “ध्यानको अभ्यासले मात्र विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेल्छ, बुद्ध भूमि नेपाललाई पूर्वीय ज्ञान र आधुनिक विज्ञानको सेतुका रूपमा प्रस्तुत गर्नुपर्छ,” उनले भने।
कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, एण्डोरा र मेक्सिकोका संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिहरूले ध्यानको महत्वबारे चर्चा गरेका थिए। नेपालले आयोजना गरेको अर्को कार्यक्रम ‘जागृत मनः शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ मा गुरु रमेश नेपालले ध्यानले शरीरको जीवनी शक्ति सबल बनाउने बताए। उनले ध्यानलाई दैनिक जीवनसँग जोड्न सके संसारबाट कलह र तनाव अन्त्य हुने उल्लेख गरे।
सो अवसरमा गुरु भानुले व्यक्तिभित्रका सम्भावना जगाउन शरीरका ऊर्जा केन्द्रहरू (चक्र) सक्रिय गराउने 'स्वजागरण अभियान' विश्वभर लैजानुपर्ने बताए। कार्यक्रममा राष्ट्रसङ्घका उपमहासचिव अटुल खरे, नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायत विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता थियो। राष्ट्रसङ्घले सन् २०२४ मा घोषणा गरेअनुसार हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाइन्छ।