‘जेन–जीको नाममा चुरिफुरी, सुशीला सरकार कुरिकुरी’ [फोटोफिचर]
आफैँले बनाएको सरकारले जेन-जीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै मिराज ढुंगाना नेतृत्वको समूह आन्दोलित, जेन–जीका मागको बेवास्ता गरेको भन्दै प्रधानमन्त्री कार्कीको राजीनामा माग
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
835
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । जेन–जी नेता मिराज ढुंगाना नेतृत्वको समूहले आज काठमाडौँको माइतीघरमा आन्दोलन शुरु गरेको छ । अन्तरिम सरकारविरुद्ध उक्त समूहले आज बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरेको हो । आन्दोलनमा सहभागी जेन–जी युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।
जेन-जीका विगतका माग पूरा नगरेको भन्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन शुरू गरेका हुन् । माइतीघरमा डा निकोलस भुसालको समूह पनि देखिएको छ ।
प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहल लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । त्यस क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।
आन्दोलनका लागि भेला भएका जेन–जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले लछारपछार गर्दैै पक्राउ गरेकालाई भ्यानमा कोचिएको छ । ‘जेन–जीको नाममा चुरिफुरी, सुशीला सरकार कुरिकुरी’ भनी आन्दोलनमा उत्रेकाले सरकारको चर्को आलोचना गरेका छन् ।
शासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ ।
जेन–जीहरुलाई प्रहरीले भ्यानमा हाल्न थालेपछि जेन–जी नेता ढुंगानालगायत भद्रकाली प्रहरी परिसरतिर लागेका छन् । उनीहरुलाई प्रहरीले सरकारी वकिलको कार्यालय अगाडि रोकेको छ ।
तर लामो रस्साकस्सीपछि नियन्त्रणमा लिइएकाहरूलाई प्रहरीले छाडेको छ । त्यसपछि फेरि आन्दोलन चर्किएको छ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले युवा पुस्ताको भावना र आन्दोलनको वास्तविक मर्मलाई आत्मसात गर्न नसकेको ठहर गर्दै उक्त समूहले १० बुँदे मागसहित सडकमा उपस्थिति जनाएको हो।
ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै आजदेखि नै आन्दोलन गरेको जनाए ।
आफैँले बनाएको सरकारले जेन-जीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेन-जी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् ।
वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबोकेको ढुङ्गानाको भनाइ छ । उनले वर्तमान सरकारले युवा पुस्ताको भावना र आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् । 'संयुक्त जेन–जी आन्दोलन' घोषणा गर्दै उनले देशमा हाल देखिएका समस्याहरूको सही समाधान नभए नेपालको स्थिति पनि बङ्गलादेशको जस्तै अराजक हुने चेतावनी दिए।
ढुङ्गानाले जेन–जी आन्दोलन केवल निर्वाचनका लागि मात्र नभई व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रूपान्तरणका लागि भएको स्पष्ट पारे। उनले भने, “अहिलेकै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउन सक्छ, त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि नठानोस्।” उनले सुरक्षा, न्याय र भरोसाको अभावमा राज्य भएको अनुभूति नै नभएको जिकिर गरे।
सरकारमाथि भ्रष्टाचार र नातावादको आरोप अभियन्ता ढुङ्गानाले सरकारले भ्रष्टाचारका फाइल खोल्न नसकेको र उल्टै नातावादमा फसेको आरोप लगाए । उनले प्रधानमन्त्रीले सार्वजनिक जग्गा मिचेको, गृहमन्त्रीले आफ्ना काकालाई नियुक्ति दिन प्रहरीमा दरबन्दी थपेको र महान्यायाधिवक्ताले छोरीलाई उन्मुक्ति दिएको जस्ता गम्भीर आरोपहरू समेत लगाएका छन्। उनले प्रधानमन्त्रीको सचिवालय नातावाद र कृपावादमा चलेको दाबी गरे।
उनले आफूहरू कसैबाट परिचालित नभएकोसमेत बताएका छन् । उनले भने, “हामी कोही कसैबाट पनि परिचालित भएका छैनौँ । शुरूआती दिनहरूदेखि नै हाम्रा मागहरू स्पष्टै छन् । फेरिएका पनि छैनन् । आन्दोलन शान्तिपूर्ण हुन्छ ।”
मिराज तिनै जेन-जी नेता हुन् जसले भदौ २३ गतेको आन्दोलन माइतीघरदेखि बानेश्वरसम्म गर्नका लागि जिल्ला प्रशासनसँग स्वीकृति लिएका थिए । उनी र पुरुषोत्तम यादवले स्वीकृति लिएका थिए ।
तर जब आन्दोलन हिंश्रक बन्न गयो उनीहरूले तत्काल उक्त आन्दोलनमा घुसपैठ भएको भन्दै सबैलाई घर जान आह्वान गरेका थिए । त्यही जेन-जी आन्दोलनमाथि सरकारले देखाएको बर्बरताले १९ जेन-जीको ज्यान गएको थियो ।