लेबनानबाट फर्कँदै राष्ट्रसङ्घीय शान्ति सेना, इटालीले भने सैन्य उपस्थिति नहटाउने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
1.8k
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनले आगामी सन् २०२६ डिसेम्बर ३१ पछि लेबनान छोड्ने योजना अघि सारे पनि इटालीले भने त्यहाँ आफ्नो सैन्य उपस्थिति जारी राख्ने घोषणा गरेको छ। लेबनान भ्रमणका क्रममा इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले युनिफिलको म्याद सकिएपछि पनि इटालीले आफ्नो भूमिका निर्वाह गरिरहने बताए।
रक्षामन्त्री क्रोसेटोले इटालीले लेबनानी सशस्त्र बलको क्षमता विकासमा विशेष सहयोग गर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय उपस्थितिलाई विश्वासका साथ समर्थन गरिरहने जानकारी दिए। इटालीको रक्षा मन्त्रालयले पनि युनिफिलको फिर्तीपछि इटालीको सेनाले लेबनान छोडिनहाल्ने कुराको पुष्टि गरेको छ। रक्षामन्त्री क्रोसेटोका अनुसार लेबनानी सेनालाई देशको रक्षा, सीमा सुरक्षा र सम्मान सुनिश्चित गर्नका लागि बलियो बनाउनु आवश्यक छ, जसमा इटालीले बहुपक्षीय र द्विपक्षीय दुवै तवरले सहयोग गर्नेछ।
सन् १९७८ देखि इजरायल र लेबनानबीचको मध्यवर्ती सीमा क्षेत्रमा कार्यरत युनिफिल सन् २००० मा इजरायलले दक्षिणी लेबनानको कब्जा अन्त्य गरेपछि सक्रिय रहँदै आएको थियो। लेबनानले यसको निरन्तरता चाहेको भए पनि इजरायल र अमेरिकाको दबाबपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत अगस्टमा यसको म्याद अन्तिम पटकका लागि मात्र थप्ने निर्णय गरेको थियो।
हाल इटालीका मेजर जनरल डियोडाटो अबग्नाराको नेतृत्वमा रहेको युनिफिलमा ४९ देशका ९ हजार ९२३ सैनिकहरू तैनाथ छन्। यस मिसनमा इन्डोनेसियापछि इटालीको सबैभन्दा धेरै १ हजार ९९९ सैनिकहरू रहेका छन्। इजरायलले भने युनिफिलको अन्त्य हुने निर्णयको स्वागत गरेको छ।
पछिल्लो समय इजरायल र हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौताअनुसार लेबनानी राष्ट्रिय सेना दक्षिणी लेबनानमा तैनाथ भई हिजबुल्लाहको पूर्वाधार भत्काउने कार्यमा संलग्न छ। यस्तो अवस्थामा इटालीले लेबनानी सेनालाई थप सक्षम बनाउन आफ्नो उपस्थिति कायम राख्न खोजेको हो।