काठमाडौँ । जेन–जीको सरकारले अहिले जेन–जीलाई नै सुन्न छाडेको छ । फागुन २१ गते निर्वाचन गर्ने भन्दै नेताहरुसँगको सम्पर्क बढाएसँगै जेन–जी सरकारले जेन–जीहरुलाई नै बेवास्ता गर्न थालेको हो ।
आफैँले बनाएको सरकारले आफूहरूलाई बेवास्ता गरेको भन्दै जेन–जीहरू निराश भएर फर्केका छन् । बुधबार डेढ घन्टा सरकारको विरोधमा प्रदर्शन गरेर माइतीघरबाट मिराज ढुंगाना, रबि किरण लगायतको जेन–जी प्रदर्शनकारीको टिम निराश हुँदै फर्केको हो ।
सोमबारदेखि आन्दोलन थालेको मिराजको टिम निराश देखिएको हो । बुधबार दिउँसो १ बजेदेखि प्रदर्शन शुरु गर्ने भनिए पनि १ः४० बजे मिराजलगायत माइतीघरमा आएका थिए भने उनीहरु ३ बजे नै प्रदर्शन सकेर निस्किएका हुन् ।
जेन-जीहरूले आफूहरूका माग सम्बोधन गरेपछिमात्र चुनाव गर्न माग गरिरहँदा उनीहरूका माग छायाँमा परेका छन् । सरकार भने नेताहरूलाई समातेर पहिले चुनाव नै गर्न अगाडि सरेको छ ।