arrow

किताबमा मात्रै सम्मान

ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुनुपर्नेमा जोड

संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
jestha-nagarik-diwas-hamrakura (1).jpg

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले आवश्यकता पहिचान गरी ज्येष्ठ नागरिकको विषयलाई नीति, योजना, कार्यक्रम र बजेटको प्राथमिकतामा राख्न, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न आग्रह गरेको हो ।

“ज्येष्ठ नागरिकको सम्मानमा जोड दिन आयोग तीनै तहका सरकारलाई निर्देशन गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले भने, “ज्येष्ठ नागरिकको हकअधिकारको सुनिश्चितता र सम्मानका लागि आफ्नो कर्तव्य निर्वाह गर्नसमेत आयोग परिवारका सदस्य र नागरिक समाजलाई अनुरोध गर्दछ ।”

नेपालको संविधानको धारा ४१ मा व्यवस्था गरिएको ज्येष्ठ नागरिकको हक तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययनका क्रममा ज्येष्ठ नागरिक आफ्नो अधिकारकाबारेमा जानकार नहुनुका साथै उनीहरुले राज्यले प्रदान गर्ने सेवासुविधाको प्रभावकारिताको अनुभूति गर्न नपाएको देखिएको छ ।

“राज्यबाट प्रदान गरिएका स्वास्थ्य र यातायात सेवामा प्राथमिकतालगायत सुविधाबाट ज्येष्ठ नागरिकहरु वञ्चित हुनुका साथै पहुँचयुक्त नभएको अनुगमनको क्रममा पाइएको छ”, आयोगका प्रवक्ता पोखरेलले भने ।

उनले भने, “कतिपय ज्येष्ठ नागरिकले पारिवारिक विखण्डन, परिवारवाट हेला एवं त्याग्नेकाम र वृद्धाश्रममा लगेर राख्ने क्रमलाई संस्थागतीकरण गर्नेजस्ता प्रवृत्तिलगायतले परिवारका सदस्यसँगै नहुँदा एक्लो महसुस गर्नु परेको र उनीहरुको सम्मान, हेरचाह र मायामा कमी आउँदा ज्येष्ठ नागरिक अधिकारको उपभोगबाट बञ्चित हुनुपरेको देखिन्छ ।”

हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार तीन सय १८ छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ज्येष्ठ नागरिकको वृद्धिदर ३ दशमलव ५ प्रतिशत रहेको छ ।

जनगणना २०७८ को समग्र जनसङ्ख्याको वृद्धिदर ० दशमलव ९२ प्रतिशत रहेकामा ज्येष्ठ नागरिकको वृद्धिदर ३ दशमलव ५ प्रतिशत हुनुले अन्यको तुलनामा ज्येष्ठ नागरिकहरुको वृद्धि प्रतिशत बढी देखिन्छ ।

ज्येष्ठ नागरिकको सङ्ख्या अझ बढ्ने आकलन गर्न सकिने औसत आयुवृद्धि, मृत्युदरमा कमी र स्वास्थ्यप्रति सचेतनाका कारण ज नागरिकको सङ्ख्या वृद्धि हुँदै गएको देखिएको छ ।

समाजको पुँजीको रुपमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गरी देश र समाज लाभान्वित हुन तीनै तहका सरकारले ठोस कदम चाल्नु आवश्यक छ ।

नेपालमा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ शुक्रबार मनाइँदै छ ।

ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारको सुनिश्चिततामा टेवा पुगोस् भन्ने उद्देश्यले विसं २०७८ देखि नेपालमा यो दिवस मनाउन शुरू गरिएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ