आयोगमा बन्दसूची बुझाउने चटारो: नेमकिपासहित तीन दलले बुझाए एक सय ३४ उम्मेदवारको नाम [भिडियो]
समानुपातिक सूची बुझाउन सोमबार साँझ ६ बजेसम्मको डेडलाइन, समय थप नहुने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
757
Shares
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन्। आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीनवटा राजनीतिक दलले आफ्नो बन्दसूची पेस गरेका छन्।
यी तीन दलले कुल १३४ जना उम्मेदवारको नामावली पेस गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। आयोगले आइतबार र सोमबार दुई दिन बन्दसूची पेस गर्ने समय तोकेको छ। समानुपातिकको बन्दसूची पेस गर्ने कार्यलाई दुई चरणमा विभाजन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा उम्मेदवारको नाम मतदाता नामावलीमा भए/नभएको यकिन गरी 'निस्सा' उपलब्ध गराइनेछ र त्यसपछि मात्र बन्दसूची दर्ता गरिनेछ।
आयोगले सेवा प्रवाहका लागि आवश्यक सम्पूर्ण स्रोत साधनको प्रबन्ध मिलाएको र कार्यतालिका व्यस्त रहेकाले समय थप गर्न नसकिने स्पष्ट पारेको छ। सोमबार साँझ ६ बजेसम्म आयोगमा आउने दलहरूलाई मात्र सेवा दिइने भट्टराईले बताए।
"पूर्वनिर्धारित कार्यक्रमअनुसार पुस १३ र १४ गते दुई दिनको समय तोकिएकोमा आज अहिलेसम्म ३ दलका १३४ जनाको सूची भेरिफाइड भइसकेको छ," प्रवक्ता भट्टराईले भने, "उहाँहरू निस्सा लिएर बन्दसूची पेस गर्ने चरणमा हुनुहुन्छ। भोलिसम्म सबै दल आइसक्ने अनुमानसहित हामी तयारी अवस्थामा छौँ।"
दलहरूले कानुनी व्यवस्थाअनुसार विभिन्न समूहको प्रतिनिधित्व मिलाएर नामावली पठाउनेमा आयोगले विश्वास व्यक्त गरेको छ। यसका लागि आयोगले राजनीतिक दलहरूलाई पहिले नै अभिमुखीकरण गरिसकेको उनले बताए। आयोगले पुस १५ देखि २० गतेसम्म नामावलीको कानुनी जाँच गर्ने र नमिलेको खण्डमा सच्याउनका लागि पुस २१ देखि २७ गतेसम्मको समय दिने गरी कार्यतालिका प्रकाशन गरिसकेको छ।