समानुपातिकतर्फ ६४ दलको बन्दसूची दर्ता: एक सय १० सिटका लागि ३४ सय २४ उम्मेदवार मैदानमा
पुस २७ सम्म बन्दसूची सच्याउन पाइने, छानबिन शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
805
Shares
काठमाडौँ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ६४ वटा राजनीतिक दलले आफ्ना उम्मेदवारहरूको बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगले पुस १३ र १४ गतेका लागि तोकेको समयसीमाभित्र ती दलहरूले उम्मेदवारी दर्ता गराएका हुन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको ११० समानुपातिक सिटका लागि ६४ दलका तर्फबाट कुल ३ हजार ४२४ उम्मेदवारको नाम सूचीकृत भएको छ। बन्दसूची बुझाउनेमध्ये ५४ दलले आफ्नै निर्वाचन चिह्न प्रयोग गर्नेछन् भने १० वटा दलले आपसी सहमतिमा साझा निर्वाचन चिह्नबाट उम्मेदवारी दिएका छन्। यसअघि ९३ दलले समानुपातिक प्रणालीमा सहभागी हुन निवेदन दिए पनि अन्तिम समयमा ६४ दलले मात्र प्रक्रिया पूरा गरेका हुन्। कतिपय दलहरूबीच एकता र सहकार्यको प्रयास जारी रहेकाले सोमबार राति अबेर र मंगलबार बिहानसम्म पनि सूची बुझाउने क्रम चलेको थियो।
निर्वाचन कार्यतालिका अनुसार आयोगले प्राप्त बन्दसूचीमाथि आज पुस १५ देखि २० गतेसम्म प्रारम्भिक छानबिन गर्नेछ। यस क्रममा कागजात अपुग भएमा वा कानुनी मापदण्ड नपुगेमा दलहरूलाई पुस २१ देखि २७ गतेसम्म सूची सच्याउने समय दिइनेछ। सच्याएर आएका सूचीहरूको पुनः जाँच पुस २८ देखि माघ ३ गतेसम्म गरिने र आगामी माघ २० गते उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिने आयोगले जनाएको छ।