काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार बन्दसूची बुझाउने प्रक्रिया सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार कुल ६४ वटा राजनीतिक दलले आफ्नो बन्दसूची पेस गरेका छन्, जसमा ५४ वटा दलले आफ्नै निर्वाचन चिह्न प्रयोग गर्नेछन् भने १० वटा दलले आपसी सहमतिमा चार वटा एकल चुनाव चिह्नमार्फत निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन्। नेपालको संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य निर्वाचित हुने प्रावधान छ।
यसैबीच, निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले पेस गर्नुपर्ने आवश्यक कागजातको सूची पनि सार्वजनिक गरेको छ। उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य बुझाउनुपर्नेछ।
साथै उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ भने महिला, दलित, अल्पसङ्ख्यक वा आर्थिक रूपले विपन्न उम्मेदवारका हकमा स्थानीय तहको सिफारिसका आधारमा ५० प्रतिशत धरौटी छुट हुने व्यवस्था गरिएको छ।
उम्मेदवारले आफ्नो सम्पत्ति विवरण, घरजग्गाको ठेगाना र सङ्घीय कानुन बमोजिम आफू अयोग्य नभएको स्वघोषणापत्र समेत बुझाउनुपर्ने आयोगले जनाएको छ। कुनै लाभको पदमा बहाल रहेको भए राजीनामा दिएको दर्ता निस्सा र २०७९ को प्रदेशसभा समानुपातिक सूचीमा नाम भए सो फिर्ता लिएको प्रमाण पनि पेस गर्नुपर्नेछ।
प्रस्तावक र समर्थकको हकमा सम्बन्धित प्रदेशको निर्वाचक मण्डलमा नाम भएको पुष्टि हुने कागजात आवश्यक पर्नेछ। आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत तोक्नुका साथै कार्यालयहरू समेत स्थापना गरिसकेकाले राजनीतिक दलहरू अहिले उम्मेदवार छनोटको आन्तरिक तयारीमा जुटेका छन्।