समानुपातिक बन्दसूची रुजु गर्दै आयोग, उम्मेदवारको नाम फेर्न नपाइने कडा नियम [भिडियो]
समानुपातिकतर्फ ५८ चुनाव चिह्नमा प्रतिस्पर्धा, मतपत्र छपाइको तयारी, मतदातालाई सहज बनाउन सानो आकारको मतपत्र छापिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
815
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ५८ वटा चुनाव चिह्नहरू समेटेर मतपत्र छापिने भएको छ। निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे विस्तृत जानकारी दिँदै सहभागी दलहरूको अन्तिम अवस्थाबारे प्रष्ट पारे।
समानुपातिकतर्फ भाग लिन आयोगमा कुल ९३ वटा राजनीतिक दलहरूले नाम दर्ता गराएको भए तापनि तोकिएको समयसीमाभित्र ६४ वटा दलले मात्रै उम्मेदवारहरूको बन्दसूची पेस गरेका छन्।
बन्दसूची पेस गर्ने ६४ दलमध्ये ५४ वटा दलले आ–आफ्नै छुट्टाछुट्टै निर्वाचन चिह्न प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्नेछन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही कुल ४ वटा साझा अर्थात् एकल निर्वाचन चिह्नमार्फत निर्वाचनमा भाग लिने गरी विवरण बुझाएका छन्।
यसरी ५४ वटा व्यक्तिगत र ४ वटा साझा गरी कुल ५८ वटा निर्वाचन चिह्नहरू मतपत्रमा रहने निश्चित भएको हो। आयोगले हाल बन्दसूचीको रुजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूची प्राविधिक कारणले अस्वीकृत भएमा यो सङ्ख्यामा केही कमी आउन सक्ने सम्भावना पनि प्रवक्ता भट्टराईले औंल्याए।
विगतका निर्वाचनहरूमा बन्दसूची पेस हुनुअघि नै मतपत्र छाप्ने गरिएकाले दर्ता भएका सबै दलका चिह्नहरू समेट्दा मतपत्र निकै ठुलो र मतदाताका लागि जटिल हुने गरेको थियो। यसपटक भने आयोगले केवल बन्दसूची बुझाएका दलहरूको मात्रै चिह्न राखेर मतपत्र छाप्ने नयाँ रणनीति लिएको छ, जसले गर्दा मतपत्रको आकार केही सानो र छरितो हुने अपेक्षा गरिएको छ।
बन्दसूचीमा नाम परिवर्तन गर्ने सन्दर्भमा आयोगले कडा व्यवस्था गर्दै केवल क्लस्टर नमिलेको वा उम्मेदवारले नाम फिर्ता लिन चाहेको अवस्थामा मात्रै संशोधन गर्न सकिने र अन्तिम नामावली प्रकाशनपछि कुनै पनि परिवर्तन स्वीकार्य नहुने जानकारी दिएको छ। साथै, आगामी निर्वाचनको पर्यवेक्षणका लागि हालसम्म ४० वटा संस्थाहरूले अनुमति पाइसकेका छन्।