सुशीला सरकारको आयु सकिन दुई महिना बाँकी, आएन मन्त्रीहरूको सम्पत्ति विवरण
बाबु नेपाली,
प्रकाशित २०८२ पुष २० आइतबार
807
Shares
काठमाडौँ । हरेक गोप्यताभित्र रहस्य लुकेको हुन्छ । त्यो रहस्य तबसम्ममात्र रहस्यमा रहन्छ जबसम्म त्यसको पर्दा उघारिँदैन । यसलाई एकमात्र विकल्प पारदर्शीता र इमानको कसीले मात्र खुला गर्न सकिन्छ ।
हो, अहिलेको सरकार जेन–जी आन्दोलनपछि नागरिक तहबाट आएको सबैभन्दा निष्कलंक सरकार हो । यो मन्त्रिपरिषद्का कोही पनि सदस्य पहिले सरकारमा थिएनन् । जेन–जीले सामाजिक सञ्जाल र मिडियामा आएका क्रियाप्रतिक्रियालाई मूल्याङ्कन गरेरै प्रधानमन्त्रीदेखि मन्त्री छानेका हुन् । यो नागरिकले रोजेको सरकार हो ।
यो निष्कलंक सरकारलाई निष्कलंक भएरै आफ्नो दायित्व पूरा गरेर सत्ता छाड्ने जिम्मेवारी जेन–जीले दिएका हुन् । यसमा कुनै पनि तल या माथिको सम्झौता हुन सक्दैन । जेन–जीले जस्तो जिम्मेवारी दिए त्यो पूरा गर्नु अहिलेको सरकारको दायित्व हो । यो सरकार जनताले निर्वाचित गरेर आएको नभई गत भदौ २३ गतेको आन्दोलन र २४ गतेको आक्रोशपछि बदलिएको राजनीतिक परिस्थितिबाट जन्मेको हो ।
जेन–जी आन्दोलनका मुख्य दुई उद्धेश्य थिए । पहिलो केपी शर्मा ओली नेतृत्वको सरकारले बन्द गरेको सामाजिक सञ्जाल तत्काल खोल्नुपर्ने र दोस्रो मुलुकमा व्याप्त भ्रष्टाचार निर्मूल गरी सुशासन कायम गर्ने । जेन–जीका घोषित माग स्पष्टै थिए । अझ जेन–जी नेताहरू सामाजिक सञ्जाल बन्द भएको भन्दा पनि आफूहरूको एकमात्र माग नै सुशासन रहेको बताउँदै आएका छन् ।
तत्कालीन सरकार यी दुवै कुरामा लचक नदेखिएपछि जेन–जी आन्दोलन भयो । त्यसको परिणाम यति भयावह भयो कि जेन–जीले माग्दै नमागेको सत्ता नै परिवर्तन भइदियो । शासन व्यवस्था परिवर्तन नभएर भ्रष्टाचार नियन्त्रण उनीहरुको प्रमुख मुद्धा थियो । जेन–जीले शासन र शासकीय पदमा रहेकाहरूलाई जवाफदेही र पारदर्शी बनाउने उद्धेश्य राखेका थिए ।
आन्दोलन हिंसामा बदलिएपछि तत्कालीन सरकार हुनुको कुनै अर्थ रहेन । सुरक्षा दिने सबै निकाय निष्कृय बसे । परिणामः केपी शर्मा ओली नेतृत्वको सरकार जनतालाई अलपत्र पारेर भाग्नुपर्यो । आन्दोलन हिंसात्मक हुन्छ भनेर झन्डै दुई तिहाईको बहुमत प्राप्त सरकारलेसमेत सोचेको थिएन । सोही आँकलन सुरक्षा निकायको पनि थियो । परिस्थिति प्रतिकूल बन्दै जाँदा मुलुक अभिभावकविहीनको अवस्थामा आयो ।
नेपाली सेनाले संयम हुन आग्रह गरी विभिन्न स्थानमा कफ्र्यू लगाएसँगै स्थिति नियन्त्रणमा आयो । यही परिस्थितिमा भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन् । उनको नेतृत्वको सरकारले चार महिनाको कार्यकाल पूरा गर्न अब एक सातामात्र बाँकी छ ।
पटक पटक मन्त्रिपरिषद् विस्तार भएको छ । १५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । यो निष्कलंक सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने म्यान्डेट छ । अर्थात् अब यसको कार्यकाल केवल दुई महिनामात्र बाँकी छ ।
त्योसँगै सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्रता दिनुपर्नेमा त्यतातर्फ खासै गम्भीर भएर लागेको पाइँदैन । सुशासन र भ्रष्टाचार निर्मलीकरणमा लाग्नुपर्ने सरकार कतै आफैँ त्यो कित्ताबाट बाहिरिएको त हैन ? भन्ने सवाल आम मानिसमासमेत उठेको छ । मन्त्रिपरिषद्को पहिलो जिम्मेवारी आफू स्वच्छ छविको देखाउनु हो ।
अहिलेसम्म मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त विवरण सार्वजनिक नगरेकाले पारदर्शीमा समस्या आएको छ । मन्त्रिपरिषद्मात्र हैन लाभको पदमा रहेका राजनीतिक नियुक्तिका सल्लाहकारहरूकोसमेत सम्पत्ति विवरण सार्वजनिक हुनुपर्छ ।
प्रधानमन्त्री कार्कीले आफूले पहिले नै सम्पत्तिको विवरण सार्वजनिक गरेर अन्य थपिने मन्त्रीहरूका लागि बाटो देखाइदिनु पर्ने थियो । त्यसो नहुँदा अहिले यो निष्कलंक सरकारप्रति प्रश्न उठिरहेको छ ।
हुँदाहुँदा अब त कार्यकाल सकिन नै दुई महिना बाँकी छ । आफैँ अपारदर्शी भएर निस्कन पर्ने सरकारले कसरी सुशासन कायम गर्ला ?