भक्तपुर र काभ्रेमा फेरि बस्नेत र बाँस्कोटा : टिकट पक्कापक्की जस्तै, केन्द्रको निर्णय कुर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
1.7k
Shares
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार देशभरका जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने क्रममा भक्तपुर र काभ्रेका दुई प्रभावशाली नेताहरूको नाम एकल रूपमा केन्द्रमा पठाइएको हो।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम सर्वसम्मत रूपमा एकल सिफारिस भएको छ। २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका बस्नेत २०७९ को निर्वाचनमा भने तत्कालीन सत्ता गठबन्धनसँग पराजित भएका थिए।
पछिल्लो समय ‘जेनजी’ आन्दोलनका नाममा राजनीतिक दलहरूमाथि भइरहेका प्रहार र अराजक गतिविधिको डटेर प्रतिवाद गर्दै आएका बस्नेतलाई स्थानीय कार्यकर्ताले निर्विकल्प उम्मेदवारका रूपमा अघि सारेका हुन्। उनको सक्रियताले एमाले पंक्तिमा मात्र नभई अन्य राजनीतिक दलहरूलाई पनि सार्वजनिक रूपमा सक्रिय हुन उर्जा मिलेको विश्लेषण पार्टी वृत्तमा गरिएको छ।
यसैगरी, काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका अर्का प्रभावशाली नेता गोकुल बाँस्कोटाको नाम पनि एकल रूपमा सिफारिस भएको छ। बास्कोटा २०७४ र २०७९ दुवै निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भइसकेका अनुभवी नेता हुन्।
दुवै क्षेत्रबाट एकल नाम सिफारिस भएसँगै उनीहरू चुनावी मैदानमा उत्रने करिब निश्चित भएको छ। यद्यपि, उम्मेदवारको अन्तिम टुङ्गो भने पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ। देशभरका अन्य निर्वाचन क्षेत्रहरूमा पनि कतै एकल त कतै आकांक्षीहरूको नामावली केन्द्रमा पठाउने कार्य जारी रहेको छ।