अत्यधिक चिसोले कञ्चनपुरको जनजीवन कष्टकर: तीन पालिकाका विद्यालयमा बिदा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
676
Shares
काठमाडौँ। कञ्चनपुरमा केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि यहाँका तीनवटा स्थानीय तहले विद्यालयको पठनपाठन बन्द गराएका छन्।
बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले सोमबारदेखि विद्यालयमा बिदा दिने निर्णय गरेका हुन्।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाले सोमबारदेखि तीन दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गरेको छ। त्यस्तै, बेलौरी नगरपालिकाले जाडोका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखी आगामी पुस २५ गतेसम्मका लागि बिदा दिएको नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए। यता लालझाडी गाउँपालिकाले पनि सूचना जारी गरी मङ्गलबार र बुधबार दुई दिनका लागि हिउँदे बिदाबाट कट्टा हुने गरी पठनपाठन बन्द गरेको छ।
लगातारको चिसो र बाक्लो कुहिरोका कारण जिल्ला सदरमुकाम महेन्द्रनगरसहित सबै पालिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। जाडोका कारण बजार क्षेत्रमा चहलपहल घटेको छ भने विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी मारमा परेका छन्। स्थानीय तहहरूले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन र बालबालिकाको विशेष ख्याल गर्न आग्रह समेत गरेका छन्।