अमेरिकी सैन्य कारबाही अन्तर्राष्ट्रिय कानूनको विरुद्ध : राष्ट्रसङ्घ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
1.8k
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा अमेरिकी सेनाले गरेको सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसलाई अन्तर्राष्ट्रिय कानूनका मौलिक सिद्धान्तहरूको गम्भीर अवमूल्यन भएको बताएको छ।
मङ्गलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले कुनै पनि राज्यले अर्को राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताको विरुद्ध बल प्रयोग गर्न नहुने कुरामा जोड दिइन्।
गएको शनिबार अमेरिकी कमान्डोहरूले युद्धविमान र नौसैनिक तैनाथीको सहयोगमा भेनेजुएलाको राजधानी क्याराकासमा कारबाही गरी राष्ट्रपति निकोलस मादुरो र उनीकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएका थिए।
अमेरिकाले भेनेजुएलामा भइरहेको मानव अधिकार उल्लङ्घनलाई आफ्नो सैन्य हस्तक्षेपको आधार बनाए पनि राष्ट्रसङ्घले त्यसलाई अस्वीकार गरेको छ। प्रवक्ता शामदासानीले स्पष्ट पारिन् कि अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै गरिने एकपक्षीय सैन्य हस्तक्षेपबाट मानव अधिकारको जवाफदेहिता हासिल गर्न सकिँदैन।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले विगत एक दशकदेखि भेनेजुएलाको बिग्रँदो अवस्थाबारे प्रतिवेदनहरू सार्वजनिक गर्दै आएको भए तापनि हालको अमेरिकी हस्तक्षेपले क्षेत्रमा थप अस्थिरता र सैन्यीकरण बढाउने जोखिम रहेको बताएको छ। यस घटनाले विश्व राजनीतिमा सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय हस्तक्षेपका विषयमा नयाँ बहस सिर्जना गरेको छ।