समानुपातिक उम्मेदवारी फिर्ता लिने समय आज अपराह्नसम्म: वारेसमार्फत पनि निवेदन दिन सकिने
समानुपातिक बन्दसूचीबाट नाम हटाउन चाहनेले आजै सम्पर्क गर्नुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
748
Shares
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन्। निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार, पुस १३ र १४ गते राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा रहेका उम्मेदवारहरूले आज अपराह्न ४ बजेसम्ममा आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था मिलाइएको छ।
निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार उम्मेदवारी फिर्ता लिन चाहने व्यक्तिले निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन दिनुपर्नेछ।
बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले 'प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२' को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्ने प्रावधान छ। यदि सम्बन्धित उम्मेदवार आफैँ उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि निवेदन दिन सकिने आयोगले जनाएको छ।
नेपालको संवैधानिक व्यवस्था अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। आज उम्मेदवारी फिर्ताको प्रक्रिया सकिएपछि आयोगले सोको जानकारी भोलि २९ पुसमा सम्बन्धित राजनीतिक दलहरूलाई गराउने तयारी गरेको छ।