arrow

बागलुङमा मतदाता संख्या एक लाख ९३ हजार नाघ्यो

नयाँ थपिएकामा युवाको बाहुल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
Baglung-hamrakura.jpg.jpeg

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ जिल्लामा कुल १ लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार मतदाताको कुल संख्यामा महिलाको बाहुल्य देखिएको छ, जसमा ९८ हजार ५७४ महिला र ९४ हजार ८०६ पुरुष मतदाता रहेका छन्।

पछिल्लो पटक गत असोज १० देखि मङ्सिर ५ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियानमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार यस अवधिमा जिल्लाभर ५ हजार २५३ नयाँ मतदाता थपिएका छन्। नयाँ थपिएका मतदातामा १६ देखि २८ वर्ष उमेर समूहको संख्या सबैभन्दा धेरै रहेको छ। जिल्ला बाहिर स्थायी ठेगाना भएका तर बागलुङमा रहेका १०० जनाले पनि यहीँबाट नामावली दर्ता गराएका छन्।

मतदाता दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा प्रत्यक्ष पुगेर १ हजार ४६४ जनाले नाम लेखाएका थिए भने ३ हजार ९२९ जनाले राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत आफ्नो नाम मतदाता नामावलीमा समावेश गराएका थिए। यसले निर्वाचनमा नयाँ पुस्ताको संलग्नता र प्रविधिको प्रयोगमा सहजता देखिएको छ।

भौगोलिक विभाजन अनुसार बागलुङमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नं १ मा ४८ मतदानस्थल र ११५ मतदान केन्द्र तोकिएका छन्, जहाँ ९८ हजार ८४६ मतदाता रहेका छन्। त्यस्तै, क्षेत्र नं २ मा ५९ मतदानस्थल र ११५ मतदान केन्द्रमा ९४ हजार ५३५ मतदाता रहेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी तयारी र मतदाता शिक्षाका कार्यक्रमहरूलाई समेत तीव्रता दिइने कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ