arrow

समानुपातिक निर्वाचन

एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारले पनि लिए समानुपातिक सूचीबाट नाम फिर्ता

एक सय ७५ उम्मेदवारले फिर्ता लिए नाम, लोसपाका सबै उम्मेदवार बन्दसूचीबाट बाहिर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरणअनुसार एकलसहित १७ वटा चुनाव चिह्नका उम्मेदवारले तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता लिएका हुन्।

आयोगले पुस २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मका लागि नाम फिर्ता लिने समय निर्धारण गरेको थियो, जसमा उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत नाम फिर्ता लिनसक्ने व्यवस्था गरिएको थियो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले तोकिएको समयभित्र प्राप्त निवेदनका आधारमा १७५ जनाको नाम बन्दसूचीबाट हटाइएको जानकारी दिए।

नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० जना उम्मेदवार रहेका छन्। उक्त पार्टी अन्य दलसँग एकता प्रक्रियामा गएकाले यसअघि पेस गरिएका सबै उम्मेदवारको नाम फिर्ता लिइएको आयोगले जनाएको छ।

त्यस्तै जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, जनादेश पार्टी नेपालका ६ र नेकपा एमालेका ५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। नेकपा माओवादी र राष्ट्र निर्माण दलका ४/४ जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीका २/२ जना उम्मेदवारले बन्दसूचीबाट नाम हटाएका छन्।

यसैगरी संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट १/१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरूले गत पुस १३ र १४ गते आयोगमा नाम पेस गरेका थिए। नेपालको संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने प्रावधान छ, जसका लागि आयोगले जातीय र क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित हुने गरी व्यवस्थापन मिलाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ