arrow

निर्वाचन २०८२: सुरक्षा तयारी अन्तिम चरणमा, तीन लाख ३० हजार सुरक्षाकर्मी परिचालन गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। 

लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको यो गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर टुङ्गिएको हो। गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा बर्सेनि हुने यस्तो गोष्ठी यसपटक आन्तरिक सुरक्षाका साथै आगामी निर्वाचनको सुरक्षा तयारीमा बढी केन्द्रित रहेको जनाइएको छ।

जनकपुरमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने दृढता व्यक्त गरे। उनले निर्वाचनलाई धाँदलीरहित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएका छन्। 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले 'एकीकृत सुरक्षा योजना–२०८२' कार्यान्वयनमा ल्याइसकेको छ भने निर्वाचन प्रहरी भर्ना तथा परिचालन सम्बन्धी कार्यविधि समेत स्वीकृत भई कार्यान्वयनको चरणमा पुगेको छ।

सुरक्षा प्रबन्धका लागि यसपटक ठूलो संख्यामा जनशक्ति परिचालन गरिँदैछ। नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढाएको छ भने निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र करिब ३४ हजार सशस्त्र प्रहरी खटिनेछन्। 

सुरक्षा चुनौतीका आधारमा नेपाल प्रहरीले देशभरका मतदानस्थललाई वर्गीकरण गरी दुई हजार ८४५ वटालाई सामान्य, चार हजार ४४२ वटालाई संवेदनशील र तीन हजार ६८० वटालाई अति संवेदनशील मतदानस्थलका रूपमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ