देशभर निर्वाचन अधिकृतका कार्यालय स्थापना, निषेधको राजनीति नगर्न आयोगको आग्रह
आचारसंहिता कार्यान्वयनमा दलहरूको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
629
Shares
काठमाडौँ। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि निर्वाचन आचारसंहिता कार्यान्वयनमा तदारुकता देखाउँदै देशभर निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरेको छ। आयोगले आइतबार निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूसँग आचारसंहिता कार्यान्वयनका विषयमा महत्त्वपूर्ण छलफल समेत गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको उक्त छलफलमा राजनीतिक दलहरूले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचनसम्बन्धी कानुन र आचारसंहिताको पूर्ण पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। दलहरूले आचारसंहिताको अनुगमनलाई प्रभावकारी बनाउन र विशेष गरी सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना तथा द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न आयोगको ध्यानाकर्षण गराएका छन्।
छलफलका क्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सबै दललाई 'निषेधको राजनीति' त्यागेर कानुनको परिधिभित्र रही निर्वाचनमा सहभागी हुन आग्रह गरे। त्यस्तै, केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक एवं आयुक्त सगुनशम्शेर जबराले निर्वाचनका क्रममा सामाजिक सञ्जालको नियमनका लागि आयोगले 'सोसियल मिडिया मनिटोरिङ टुल्स' (सामाजिक सञ्जाल अनुगमन प्रणाली) प्रयोग गर्ने जानकारी दिए।
यसैबीच, आगामी फागुन २१ गते हुने निर्वाचनको प्रशासनिक तयारीलाई तीव्रता दिँदै आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हालसम्म ८८ वटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू सञ्चालनमा आइसकेका छन्। सबै दलको सहकार्य र प्रतिबद्धताले आचारसंहिताको सफलतापूर्वक कार्यान्वयन हुनेमा आयोगले विश्वास व्यक्त गरेको छ।