प्रतिनिधिसभा निर्वाचन २०८२: कास्कीका तीनवटै क्षेत्रमा एमालेका उम्मेदवार सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
1.5k
Shares
काठमाडौं । आगामी फागुन २१ गते देशभर एकै चरणमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनका लागि यही माघ ६ गतेको समय सीमा तोकेपछि जिल्लामा क्रियाशील दलहरू आफ्ना उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउने कसरतमा व्यस्त देखिएका छन्।
यसै क्रममा नेकपा (एमाले) ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको छनोट प्रक्रिया पूरा गरी नाम समेत सार्वजनिक गरिसकेको छ।
एमालेका तर्फबाट कास्की क्षेत्र नं १ मा बैनबहादुर अधिकारी क्षेत्री, क्षेत्र नं २ मा कृष्ण थापा र क्षेत्र नं ३ मा दामोदर बैरागीलाई चुनावी मैदानमा उतार्ने निर्णय भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिए।
एमाले बाहेकका अन्य प्रमुख दलहरू भने यतिबेला आन्तरिक छलफल र आकांक्षीहरूको व्यवस्थापनमा केन्द्रित छन्। नेपाली कांग्रेसले विभिन्न तहमा छलफल चलाइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उम्मेदवार बन्नका लागि २१ जनाले इच्छा देखाएका छन्, जसको अन्तिम निर्णय आज साँझसम्म हुने बताइएको छ। त्यस्तै, नेकपाले युवा र महिलाको प्रतिनिधित्वलाई प्राथमिकता दिँदै प्रत्येक क्षेत्रबाट पाँच–पाँच जनाको नाम केन्द्रमा सिफारिस गरिसकेको छ।
कास्की जिल्लामा यसपटक कुल ३ लाख ८ हजार ५७२ जना मतदाता रहेका छन्, जसमा सबैभन्दा बढी क्षेत्र नं १ मा १ लाख १६ हजार ८७८ मतदाता छन्। यस्तै, क्षेत्र नं २ मा ८४ हजार १३४ र क्षेत्र नं ३ मा १ लाख ७ हजार ५६० मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।
माघ ६ गते हुने मनोनयन दर्ताको समय नजिकिँदै जाँदा कास्कीमा मतदाताहरू माझ चुनावी रौनक बढ्नुका साथै दलहरू आफ्ना एजेण्डा र उम्मेदवारसहित घरदैलो कार्यक्रमको तयारीमा जुटेका छन्।