मङ्गलबार प्रतिनिधि सभाको मनोनयन: आयोगले गर्यो उम्मेदवारका लागि १३ बुँदे 'चेकलिस्ट' सार्वजनिक
नागरिकतादेखि सम्पत्ति विवरणसम्म, मनोनयनका लागि यस्ता छन् अनिवार्य कागजात
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
947
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिँदै गर्दा निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ। निर्वाचन कार्यतालिका अनुसार यही मङ्गलबार (माघ ६ गते) उम्मेदवारहरूको मनोनयन दर्ता हुने कार्यक्रम छ।
यसका लागि आयोगले माघ २ गते नै देशभरका सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसकेको छ। उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित र कानुनसम्मत बनाउन आयोगले उम्मेदवारहरूलाई आवश्यक कागजातसहित उपस्थित हुन अपिल गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र प्रचलित कानुनबमोजिम मनोनयनका लागि १३ बुँदे अनिवार्य मापदण्ड तय गरेको छ। उम्मेदवार हुन चाहने व्यक्तिले आफ्नो नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा र निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्नेछ। महिला, दलित, अल्पसङ्ख्यक वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
यसपटक उम्मेदवारहरूले आफ्नो चल-अचल सम्पत्ति, बैङ्क खाता र ऋणको विवरणसहितको सिलबन्दी सम्पत्ति विवरण र व्यक्तिगत विवरण फाराम अनिवार्य बुझाउनुपर्नेछ। सरकारी वा अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने पदमा बहाल रहेका व्यक्तिले राजीनामा दिएको निस्सा र विगतमा लिएको कुनै पनि प्रकारको सरकारी पेस्की वा बेरुजु फछ्र्यौट गरेको प्रमाण समेत संलग्न गर्नुपर्ने व्यवस्था छ। दलका उम्मेदवारहरूले पार्टीको आधिकारिक पत्र र स्वतन्त्र उम्मेदवारहरूले सोही क्षेत्रका एक जना प्रस्तावक र एक जना समर्थकको सहीछापसहितको विवरण बुझाउनुपर्नेछ। आयोगले निर्वाचन आचारसंहिता, २०८२ बमोजिमको प्रतिबद्धता पत्र र स्वघोषणा पत्रलाई पनि मनोनयनको अनिवार्य अङ्ग बनाएको छ।
१. उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि ।
२. कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।
३. उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउनेगरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा ।
४. उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम ।
५. प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयन पत्र ।
६. दलका तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र । तर एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र ।
७. प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर । तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ (आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रुपमा विपन्न भनी सिफारिस गरेको पत्र) ।
८. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र ।
९. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची–९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण ।
१०. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची–१० बमोजिम भरिएको वैयक्तिक विवरण फाराम ।
११. उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्याैट भएको व्यहोराको निस्सा ।
१२. लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानी साथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फछ्र्यौट गरेको निस्सा ।
१३. निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–३ बमोजिमको प्रतिवद्धता पत्र ।